
काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठको मृत्यु प्रकरणमा प्रहरीले घटनामा अन्य कुनै व्यक्तिको संलग्नता नदेखिएको जनाएको छ ।
प्रहरीका अनुसार हालसम्मको अनुसन्धानले श्रेष्ठले आफैं आगो लगाएको देखाएको छ । काठमाडौं महानगरपालिका–२६ नरदेवी स्थायी घर भएका श्रेष्ठ हाल परिवारसँग कीर्तिपुरको ग्रिनउड भिल्लामा बस्दै आएका थिए । मंगलबार बिहान करिब ११ः२० बजे उनी बा ५ च ३०३८ नम्बरको कार आफैं चलाएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोक नजिक पुगेका थिए ।
प्रहरीका अनुसार उनले सडकबाट केही पर रहेको खाली स्थानमा कार रोकेपछि गाडीभित्र आगो लागेको थियो । धुवाँ र आगो देखेपछि घटनास्थल नजिक रहेका एक स्थानीयले कारको ढोका खोल्ने प्रयास गरेका थिए । तर, आगोको तीव्र तापका कारण उनको हातसमेत पोलिएपछि उनी पछि हट्न बाध्य भएका थिए । घटनास्थलको सीसीटीभी फुटेजले पनि यही अवस्था देखाएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरको संयुक्त अनुसन्धानपछि घटनामा अन्य व्यक्तिको संलग्नता पुष्टि हुने कुनै प्रमाण हालसम्म फेला नपरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले बताएका छन् । आगलागी नियन्त्रणमा आएपछि प्रहरी टोलीले चालक सिटमै श्रेष्ठको शव फेला पारेको थियो । त्यसपछि प्रहरीले घटनाको पृष्ठभूमि, सीसीटीभी फुटेज र पारिवारिक अवस्थासहित विभिन्न पक्षबाट अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा श्रेष्ठ लामो समयदेखि औषधि व्यवसायमा आबद्ध रहेको र कोरोना महामारीपछि व्यवसायमा ठूलो आर्थिक क्षति बेहोरेको खुलेको प्रहरीले जनाएको छ । त्यसपछि ऋणको भार बढ्दै जाँदा उनी आर्थिक समस्यासँग जुधिरहेका थिए । पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले पछिल्लो समय उनी गम्भीर मानसिक तनावमा रहेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानले आर्थिक संकट र त्यसबाट सिर्जिएको मानसिक दबाब घटनाको प्रमुख कारण हुन सक्ने देखाएको छ । यद्यपि, घटनाका सबै पक्षका बारेमा विस्तृत अनुसन्धान भने अझै जारी रहेको उनले बताए ।
प्रहरीका अनुसार बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गरिनेछ । अनुसन्धानका क्रममा उनले प्रयोग गरेको कार २०६२ सालमा नबिल बैंकबाट ऋणमा खरिद गरेको पत्ता लागेको छ । यातायात व्यवस्था विभागको अभिलेखबाट कार सुरेशचन्द्र र रजनी श्रेष्ठको संयुक्त नाममा दर्ता रहेको पनि खुलेको छ ।



















