
काठमाडौं । कर्णाली प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको कर्णाली रंगशाला औपचारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । सोमबार आयोजित कार्यक्रममा निर्माण कम्पनी एमएसी र जीएसएल जेभीले रंगशाला कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण गरेको हो । हस्तान्तरणपछि कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले रंगशालाको उद्घाटन गरे ।
सो अवसरमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहेता, सदस्य मोनालिसा खम्बू, शक्तिप्रसाद गौचन, ललिता नाथलगायतको उपस्थिति रहेको थियो ।
सदस्यसचिव मेहेताले कर्णालीमा यस स्तरको आधुनिक रंगशाला निर्माण हुनु समग्र नेपाली खेलकुदका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले खेलकुद विकासका लागि पूर्वाधार पहिलो आवश्यकता भएको उल्लेख गर्दै रंगशालाले कर्णालीको खेलकुद विकासमा नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गरे ।
उपाध्यक्ष श्रेष्ठले कर्णालीमा यस स्तरको आधुनिक र व्यवस्थित रंगशाला निर्माण हुनु खुसीको विषय भएको बताए । उनले खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा यो ठूलो उपलब्धि भएको उल्लेख गर्दै रंगशालाले प्रदेशमा खेलकुद गतिविधि विस्तार गर्न सहयोग पुग्ने बताए ।
मुख्यमन्त्री शाहीले कर्णाली रंगशाला प्रदेशको गौरव र पहिचानसँग जोडिएको संरचना भएको बताए । उनले रंगशाला निर्माण सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भए पनि यसको उचित व्यवस्थापन र नियमित सञ्चालनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्लले रंगशाला प्रदेशको खेलकुद भविष्यसँग जोडिएको महत्त्वपूर्ण सम्पत्ति भएको बताए । उनले यसको निर्माणले कर्णालीमा खेलकुदको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री मल्लले रंगशालाको उचित संरक्षण, व्यवस्थापन र प्रभावकारी सञ्चालनमा प्रदेश सरकारले ध्यान दिने पनि बताए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न रंगशालाले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
कर्णाली रंगशाला प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकामा छ । करिब ९ बिघा क्षेत्रफलमा फैलिएको रंगशालाको शिलान्यास तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले २०७८ मंसिर २० गते गरेका थिए ।
कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लागतमा निर्माण भएको रंगशाला १० हजार दर्शक अट्ने क्षमताको छ ।
दसौं राष्ट्रिय खेलकुद मंगलबारदेखि ५ खेल सुरु हुनेछ । पुरुष फुटबल, पुरुष / महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडी सुरु हुनेछ । टेनिस बर्दिया, पौडी नेपालगन्ज र बाँकी खेल सुर्खेतमा हुनेछ । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भने मंसिर १६ गतेदेखि हुनेछ ।

























