‘एक्सन’मा अख्तियार र मुख्यमन्त्री कार्यालय : कोशीको ‘कागजी अनुगमन’मा ताला !

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ मंसिर ४, बिहीबार १६:५५

विराटनगर । लामो समयदेखि प्रदेश प्रशासनमा जरो गाडेको ‘कागजमा अनुगमन’ र ‘नगई भत्ता’ बुझ्ने भ्रष्ट परिपाटीविरुद्ध कोशी प्रदेश सरकार आक्रामक बनेको छ । अनुगमन र भ्रमणका नाममा कर्मचारीले जथाभावी खर्च गर्दै राज्यकोषको व्यापक दुरुपयोग गरिरहेको तथ्य उजागर भएपछि सरकारले कडाइ गर्न थालेको हो ।

प्रदेश सरकार स्थापना भएयता अनुगमन तथा भ्रमणका नाममा कर्मचारीले लाखौं रूपैयाँ दुरुपयोग गरिरहेको र यसले सुशासनको आधारस्तम्भलाई नै खोक्रो बनाउँदै लगेको अवस्था थियो । प्रदेशमा ‘कागजमै अनुगमन’, ‘नगई भत्ता’, ‘एकै दिन अलगअलग जिल्लाको भ्रमण’, ‘घर गएकै पनि काज’ तथा ‘झारा टार्ने प्रतिवेदन’का भरमा भत्ता बुझ्ने विकृत अभ्यास सामान्यजस्तै बनिरहेको थियो ।

Advertisement

यस्ता गलत अभ्यासले गर्दा विकास योजनाहरूको प्रभावकारी अनुगमन हुन सकिरहेको थिएन र त्यसको प्रत्यक्ष असर विकास निर्माणको गुणस्तरमा परिरहेको थियो । तर, खोज पत्रकारितामार्फत विस्तृत प्रमाणसहित यी अनियमितताहरू सार्वजनिक गरिएपछि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवै सक्रिय बनेका छन् ।

भ्रमण र अनुगमनका नाममा हुने गरेको भ्रष्टाचारमाथि अख्तियारले अनुसन्धान एवं छानबिन गरिरहेको छ । अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार नै गरेपछि मुख्यमन्त्री कार्यालयले पनि भ्रमण तथा अनुगमनलाई पारदर्शी बनाउनुपर्ने भनेर सबै मन्त्रालय र प्रदेशअन्तर्गतका निकायलाई स्पष्ट निर्देशन दिएको छ ।

अख्तियार र मुख्यमन्त्री कार्यालयको यो कठोर ‘एक्सन’ पछि प्रदेशको प्रशासनिक संरचना, लेखापरीक्षण प्रक्रिया र कर्मचारीको कार्यशैली नै अब पारदर्शी र जवाफदेही दिशातर्फ मोडिएको देखिन्छ । प्रदेशमा हाल ९ वटा मन्त्रालय छन्, र यी मन्त्रालयमा विगत केही वर्षयता भ्रमण र अनुगमनका नाममा आर्थिक दुरुपयोग मौलाउँदै गएको थियो ।

विभिन्न मन्त्रालयका सचिवदेखि शाखा अधिकृत र कार्यालय सहयोगीसम्मले ‘भ्रमणमा गइसकेको’ भनेर कागज मिलाउँदै भत्ता बुझ्ने गरेका थिए । दोब्बर–तेब्बर भत्ता देखाउनु, फोटो नखिची र नराखिकन अनुगमनको दाबी गर्नु तथा झारा टार्ने प्रतिवेदन तयार गरिनुले यो विकृतिको पुष्टि गरेको थियो ।

अनियमितताको डरलाग्दो चित्र र प्रमाण

यो विषयमा खोज पत्रकारितामार्फत २०८१ साउन र भदौमा ‘कोशी प्रदेशमा ‘गणेश काज’को बिगबिगी : भ्रमण भत्तामा मनपरी’ शीर्षकमा समाचारहरू सार्वजनिक भएका थिए । प्राप्त प्रमाणले आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिवहरू सुमन दाहाल, शिवकुमार कार्की र श्यामप्रसाद भण्डारीले आर्थिक वर्ष २०७९–०८० मा सामान्य प्रतिवेदनका आधारमा भत्ता बुझेको देखाएको थियो । हवाईजहाजको भाडाबापतको रकम पनि बढी लिएको पाइएको थियो ।

तत्कालीन सचिव शिवकुमार कार्कीले काठमाडौं–विराटनगर जहाज टिकटको मूल्य करिब १०–१२ हजार पर्नेमा ३१ हजार रूपैयाँ लिएको भेटिएको थियो, जुन सरकारी स्रोतको नांगो दुरुपयोग थियो । यसैगरी भण्डारीले सामाजिक सुरक्षा कोषको कार्यक्रममा सहभागी भएको भन्दै ६ दिनको भत्ता बुझे पनि त्यसको कुनै प्रतिवेदन, फोटो वा उपस्थिति प्रमाण थिएन ।

दाहालको प्रतिवेदनमा पनि उही ढाँचाका, औपचारिकता मात्रै पूरा गर्ने र तस्बिरविहीन कागजातहरू भेटिएका थिए । तत्कालीन सचिवहरूले नियमविपरीत बुझेको भत्ता एउटा उदाहरण मात्रै हो । सोही मन्त्रालयका अन्य पदमा कार्यरत तथा अन्य मन्त्रालयका सचिवदेखि अधिकांश कर्मचारीले त्यसरी नै गलत ढंगले भ्रमण भत्ता बुझेर अनियमितता गरिरहेको विषय उजागर भएको थियो ।

समाचार सार्वजनिक भएपछि केही मन्त्रालयका कर्मचारीहरूले नियमविपरीत लिएको भत्ताबापतको रकम फिर्तासमेत गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय र निकायलाई पत्र पठाउँदै ‘फिल्डमा नगइकन भ्रमण’ र ‘आवश्यकता भन्दा बाहिरको अनुगमन’ स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

फोटो वा प्रतिवेदन बिना भत्ता भुक्तानी नगर्न निर्देशन दिँदै अनियमितता भेटिएमा कारबाही गरिने चेतावनी मुख्यमन्त्री कार्यालयले दिएको छ । अख्तियारले प्रदेश सरकारका मन्त्रालयहरूको विगतका सबै भ्रमण भत्ता विवरण तथा कागजी अनुगमनका कागजात परीक्षण गर्ने काम गरिरहेको छ, जसले गर्दा प्रशासनिक क्षेत्रमा ठूलो हलचल पैदा भएको छ ।

प्रशासनिक शुद्धीकरणको कठोर परिणाम

अनियमितताको समाचार सार्वजनिक भएपछि भ्रमण अनुगमनमा खर्च हुने रकममा प्रत्यक्ष र नाटकीय प्रभाव परेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०७९–०८० मा अनुगमन शीर्षकमा ४ लाख ८३ हजार रूपैयाँ खर्च गरेको थियो, जुन दुरुपयोग सार्वजनिक भएपछि २०८०–०८१ मा ८३ हजार रूपैयाँमा सीमित भयो । यसले अनुगमन भ्रमणमा कति ठूलो रकम हिनामिना भइरहेको थियो भन्ने प्रष्ट हुन्छ ।

प्रदेश सरकारले जेनजी आन्दोलनपछि चालु आर्थिक वर्ष २०८१–०८३ को बजेटमा २५ प्रतिशत बजेट कटौती गरेको छ । चालु आर्थिक वर्षका लागि ल्याइएको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेटमा गरिएको यो कटौतीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पुष्टि गरेका छन् ।

त्यो रकम जेनजी आन्दोलनको बेला भएका आगजनी र तोडफोडबाट क्षतिग्रस्त कार्यालय र असोज दोस्रो सातापछिको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि खर्च गरिने मन्त्री भण्डारीले बताए । त्योसँगै सरकारले अन्तरप्रदेश भ्रमण पूर्ण रूपमा बन्द गरेको छ । जसलाई खर्च कटौतीसँगै वर्षौंदेखिको अनियमितता रोक्ने अस्त्रका रूपमा लिइएको छ ।

प्रदेश सरकारले २०८२–०८३ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै भ्रमण अनुगमनलाई ‘कागजी होइन, प्रमाण आधारित’ बनाउन कडा प्रावधान राखेको छ । मार्गदर्शनमा भ्रमण आवश्यकता प्रमाणित भए मात्र स्वीकृत हुने, कार्यक्रमको उद्देश्य र उपलब्धि स्पष्ट हुनैपर्ने, अनिवार्य फोटो, फिल्ड नोट, स्थानीयस्तरको सहभागिता र प्रमाण हुनैपर्ने उल्लेख छ । साथै, अनुगमनको प्रतिवेदनमा स्थलको अवस्था, समस्या, समाधानका लागि गर्नुपर्ने काम स्पष्ट उल्लेख नभए खर्च एवं भत्ता भुक्तानी हुने छैन ।

पारदर्शिताको नयाँ संकल्प

कोशी प्रदेशमा भएको यो प्रशासनिक फेरबदल एक सफल प्रणालीगत सुधारको उत्कृष्ट उदाहरण हो । नागरिक खबरदारी, खोपकेको अनुसन्धान र अख्तियारको बलियो हस्तक्षेपले अन्ततः राज्यकोषको दोहनमाथि लगाम लगाएको छ । ‘कागजमै अनुगमन’ को संस्कृतिले गर्दा विकास योजनाहरूको कार्यान्वयनमा कुनै सुधार देखिँदैनथ्यो, किनकि कर्मचारीहरू फिल्डमा नभई टेबुलमा बसेरै अनुगमन प्रतिवेदन तयार पार्थे ।

अब मुख्यमन्त्री कार्यालयले ‘फोटो बिना भुक्तानी हुँदैन’ भनेर जुन कठोर अडान लिएको छ, त्यसले पुरानो शैलीका ‘घुसखोरी’लाई निस्तेज पारेको छ र प्रशासनिक शुद्धीकरणको प्रक्रियालाई नयाँ गति दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एकदेव अधिकारीले प्रदेश सरकारले कागजी प्रक्रिया मात्रै नभएर पारदर्शिता खोजेको र भ्रमण अनुगमनमा कडाइले अब निकै प्रभाव पार्न थालेको बताए । भ्रमण र अनुगमनमा कुनै विकृति नहोस् भनी कडाइ गरिएको र जरुरी काम परेका तथा आवश्यकता अनुसार मात्रै कर्मचारीहरू भ्रमण एवं अनुगमनमा जाने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

भ्रमणमा जानेले अनिवार्य प्रतिवेदन बुझाउनुपर्ने र प्रतिवेदनमा फोटो राख्नैपर्ने, अन्यथा लेखा परीक्षणका क्रममा बेरुजु देखिने र सम्बन्धितबाटै असुलउपर गरिने अधिकारी बताउँछन् । राज्यकोष दोहन गर्ने पुरानो ढोका बन्द भइसकेको र सरकारले सुरु गरेको कडाइ प्रशासनिक शुद्धीकरणको महत्वपूर्ण चरण भएको उनको निष्कर्ष छ ।

यस प्रकरणले एउटा स्पष्ट सन्देश दिएको छ – सुशासन अब राजनीतिक भाषणमा मात्र सीमित छैन, यो प्रमाणमा आधारित हुनेछ । भ्रमण खर्चमा आएको कमीले अनुगमनका नाममा कति ठूलो रकम हिनामिना भइरहेको थियो भन्ने पुष्टि गर्छ । अबको चुनौती भनेको यो कडाइलाई निरन्तरता दिनु हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले सुशासन एवं पारदर्शिताको पक्षमा काम गरिरहेको बताए । नीतिगत तथा अन्य हिसाबले हुने गरेको अनियमितता रोक्न प्रदेश सरकार सक्रिय रहेको उनको भनाइ छ । भ्रमण, अनुगमन मूल्यांकनका नाममा फिल्डमै नागइकन कागजात मिलाएर भत्ता बुझ्ने गरेको तथा भ्रमण भत्ता दुरुपयोग गरिरहेको विषय आएकाले त्यसलाई रोक्न सरकार कठोर रूपमा प्रस्तुत भएको कार्कीले बताए ।

भ्रमण एवं अनुगमनका नाममा भइरहेको जथाभावी खर्च, तालिम, गोष्ठी र कार्यक्रम खर्च कटौती गर्दै अन्तरप्रदेश भ्रमणका कार्यक्रम बन्द गरिएको जानकारी उनले दिए । साथै, काम बिना काज र फर्जी कागजात बनाएर भ्रमण खर्च कसैले लिएको प्रमाणित भएमा कारबाही हुने मुख्यमन्त्री कार्की बताउँछन् ।

राजनीतिक नेतृत्वले कर्मचारीको दबाब वा पुरानो गलत प्रवृत्तिको प्रभावमा परेर सुशासनको अभियानलाई कमजोर बनाउन नहुने अभियन्ताहरु बताउँछन् । राज्यकोषको दोहन रोक्ने यो प्रशासनिक संकल्पलाई निरन्तरता दिन सकेमा कोशी प्रदेश नेपालको संघीयतामा सुशासन र जवाफदेहीको एक उदाहरणीय नमुना बन्न सक्ने विकल्प एन अल्टरनेटिभका संस्थापक तथा कार्यकारी निर्देशकसमेत रहेका सामाजिक अभियन्ता वसन्त अधिकारीले बताए ।

प्रदेश सरकारका निकायमा हुने गरेका अनियमितता र भ्रष्टाचार रोक्न सबै पक्षको दबाब आवश्यक रहेको उनको भनाइ छ । ‘कर्मचारीले विभिन्न नाममा अनियमितता र भ्रष्टाचार गर्ने गरेको विषय आइरहेको छ । त्यसमा कडाइ गरेर आम नागरिकलाई सुशासनको प्रत्याभूति दिन सक्नुपर्छ । त्यसका लागि सबै पक्षले खबरदारी गर्न आवश्यक छ,’ अधिकारीले भने ।

यो पनि पढौं

कोशी प्रदेशमा ‘गणेश काज’ को बिगबिगी : भ्रमण भत्तामा मनपरी

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.