विराट शिक्षणमा सुत्केरीको मृत्यु

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र ८, शनिबार १३:०८

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएको छ ।

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ की २५ वर्षीया सवना खातुनको मृत्यु भएको अस्पतालले जनाएको छ । खातुनलाई प्रसूतिका लागि गत बिहीबार साँझ भर्ना गरिएको थियो । अस्पतालका अनुसार शुक्रबार दिउँसो भ्याकुमको सहायताले प्रसूति गराइयो ।

सवनाले छोरा जन्माएकी थिइन् । तर, आमा र बच्चाको स्वास्थ्य अवस्था बिग्रिएको भनेर शुक्रबार साँझ ५ बजेतिर आईसीयूमा भर्ना गरियो । केहीबेरमै आमाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उपचाररत शिशुको स्वास्थ्यमा भने सुधार हुँदैछ ।

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्य र आफन्तले होहल्ला र नाराबाजी गर्न थालेपछि अस्पतालको अवस्था तनावपूर्ण बनेको थियो । उनीहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, बच्चाको पालनपोषण गर्नुपर्ने र घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्दै होहल्ला गरेका हुन् ।

घटनाका बारेमा शनिबार छलफल गरेर निष्कर्ष निकाल्ने सहमति मृतक पक्ष र अस्पताल प्रशासनबीच भएपछि भीड तितरबितर भएको थियो । शनिबार बिहानैबाट अस्पतालमा ५०/६० जनाको संख्यामा मृतकका आफन्त भेला भएका छन् । उनीहरुले दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान राखेका छन् । सुत्केरीको शवलाई अस्पतालकै शवगृहमा राखिएको छ ।

अस्पतालमा तोडफोड हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मुख्य गेट बन्द गरिएको छ । मुख्य गेटमा ताला लगाएर आवतजावतमा रोक लगाइएको हो । भेला भएकाहरुले बाहिरैबाट नाराबाजी गरिरहेका छन् ।

कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आक्रोसित बनेको भीडलाई सुरक्षाकर्मीले सम्झाइबुझाइ गरिरहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सम्भावित घटना हुन नदिन अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

समस्या समाधानका लागि भनेर अहिले मृतक पक्ष र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ । मृतक सवनाका पति कुरसिद आलमले डाक्टरको लापरबाहीका कारण पत्नी गुमाउनु परेको गुनासो गरे ।

‘अस्पताल भर्ना गरेदेखि नै लापरबाही गरिएको थियो । गर्भवती श्रीमतीलाई डाक्टरले राम्रोसँग हेरेननन्,’ उनले भने, ‘सुत्केरी भइसकेपछि आमा र बच्चाको अवस्था बिग्रियो भनेर आईसीयूमा लगियो । एक्कासि आमाको मृत्यु भयो भनेर जानकारी गराइयो ।’ सुत्केरीको उपचारमा लापरबाहीले सीमा नाघेको कुरसिद बताउँछन् ।

अस्पतालका संयोजक सुनील देवले उपचारमा लापरबाही नभएको बताए । ‘भ्याकुमबाट प्रसूति गराइएको थियो । एक्कासि मुटुमा समस्या आयो,’ उनी भन्छन्, ‘तत्काल आईसीयूमा भर्ना गरेर उपचार सुरु गरियो । तर, सुत्केरीलाई बचाउन सकिएन ।’ छानबिन गरेपछि मात्रै घटना हुनुको कारण पत्ता लाग्ने देवको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×