यातायातमा स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनाउँदै कोशी सरकार

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार ०८:४७

विराटनगर । कोशी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा गराउनुपर्ने स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनाउन थालेको छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिँदा र नवीकरण गर्दा स्वास्थ्य परीक्षण अनिवार्य छ । त्यसका लागि आवश्यक पर्ने स्वास्थ्य जाँचलाई व्यवस्थित बनाउँदै यातायातमा हुने बिचौलियाको बिगबिगी अन्त्य गर्न प्रदेश सरकार अग्रसर बनेको हो ।

यातायातमा स्वास्थ्य परीक्षणका नाममा बिचौलियाको बिगबिगी हुन्थ्यो । त्यो जालो तोड्दै सेवाग्राहीको स्वास्थ्य परीक्षणलाई सहज बनाउन काम सुरु गरिएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिचौलियाले दुःख दिने गरेका गुनासो धेरै आइरहेको छ । स्वास्थ्य परीक्षणलाई व्यवस्थित एवं प्रभावकारी बनाउने प्रक्रिया सुरु गरेको प्रदेश सरकारले सेवाग्राहीलाई एकभन्दा बढी चिकित्सकबाट सेवा दिने तयारी गरेको छ ।

मन्त्रालयले गत भदौमा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई सूचीकृत हुन आह्वान गरेको थियो । भदौ २१ गते जारी गरिएको सूचनाका आधारमा २१ जना चिकित्सकले सूचीकृत हुन दरखास्त दिएका थिए ।

तीमध्ये १४ जना चिकित्सकलाई स्वास्थ्य परीक्षण गर्न प्रदेश सरकारले अनुमति दिएको छ । मन्त्रालयको यातायात व्यवस्था शाखाका प्रमुख नारायण भण्डारीले एकभन्दा बढी चिकित्सकबाट सेवा दिनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिए ।

‘अहिले प्राविधिक हिसाबका कामहरु भइरहेका छन् । अब सूचीकृत भएका चिकित्सकहरूले दिएको स्वास्थ्य जाँचको प्रमाणपत्रका आधारमा लाइसेन्स दिने र नवीकरण गर्ने व्यवस्था मिलाउँछौं,’ भण्डारीले भने, ‘स्वास्थ्य परीक्षणका नाममा भइरहेको एकाधिकार तोड्ने अभियानमा प्रदेश सरकार लागेको छ । सेवाग्राहीले स्वास्थ्य जाँच गराउँदा अबदेखि बिचौलियाको सामना गर्नु पर्दैन ।’ यसअघि यातायात व्यवस्था कार्यालयमा स्वास्थ्य जाँच गर्नका लागि ठेक्का लगाउने चलन थियो ।

यातायात कार्यालयमा बस्ने बिचौलियाले नै ठेक्का पाउने गरेका थिए । ठेक्का पाएपछि बिचौलियाले चिकित्सकहरूलाई ‘कन्ट्रयाक्ट’मा स्वास्थ्य परीक्षणको जिम्मा दिन्थे । ठेकेदार कम्पनीलाई यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयले बस्ने तथा स्वास्थ्य परीक्षण गर्ने ठाउँ उपलब्ध गराउँथे ।

भिडभाड हुने यातायात व्यवस्था कार्यालयहरूमा स्वास्थ्य परीक्षणका लागि लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यतामा सेवाग्राही थिए । त्यहाँमाथि बिचौलियाको सहारा नलिएसम्म काम बन्दैन थियो । स्वास्थ्य परीक्षणका क्रममा फेल भएकालाई बिचौलियामार्फत मोटो रकमसमेत असुलेर पास गराउने गरेको जनगुनासो व्याप्त थियो ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशीमा लाइसेन्सका लागि पुगेका सेवाग्राहीले स्वास्थ्य परीक्षण गराउँदा फेल भएमा १ देखि २ हजार रुपैयाँसम्म बुझाएर पास भएको प्रमाणपत्र लिने गरेको गुनासो पनि थियो । पैसा नदिएसम्म पास भएको प्रमाणपत्र नदिने गरेको गुनासो सेवाग्राहीको छ ।

ठेक्का पाएका बिचौलियाले खटाएका चिकित्सकबाहेक अन्यले दिएको स्वास्थ्य परीक्षणको प्रमाणपत्रलाई कार्यालयले स्वीकृत दिँदैन थियो । जसका कारण सेवाग्राहीले पैसा बुझाउनैपर्ने बाध्यता हुन्थ्यो । सेवाग्राहीले अनेक हिसाबबाट खेप्दै आएको सास्ती हटाउन प्रदेश सरकार सक्रिय भएको हो ।

ठेक्का पाएको फर्मले स्वास्थ्य जाँचका नाममा सेवा ग्राहीसँग मोटो रकम लिने गरेको गुनासोसँगै प्रदेश सरकारले सूचीकृत भएका चिकित्सकमार्फत काम गराउने प्रक्रिया थालेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लाइसेन्स लिने र नवीकरण गर्ने प्रक्रियाका लागि सूचीकृत भएका चिकित्सकबाट स्वास्थ्य परीक्षणको काम गराइने बताए ।

‘अब स्वास्थ्य परीक्षणका लागि सूचीकृत भएका चिकित्सकको ‘क्लिनिक’मा गए हुन्छ । भिडमा लाइन बसिरहनु पर्दैन । जाँच गरेपछि चिकित्सकले ‘सफ्टवेयर’मार्फत प्रमाणपत्र ‘अपलोड’ गर्नु हुन्छ । त्यसकै आधारमा लाइसेन्सको काम अघि बढ्छ,’ उनले भने । त्यसका लागि प्राविधिक पाटोमा काम भइरहेको मन्त्री भण्डारीको भनाइ छ ।

उनले प्राविधिक काम सम्पन्न गर्न विभागबाट नै प्राविधिकको टोली प्रदेशमा ल्याएर काम सुरु गरिएको जानकारी दिए । कोशी प्रदेशमा इलाम, बिर्तामोड, धनकुटा, इटहरी, गाईघाट र विराटनगरबाट लाइसेन्स वितरणको काम हुन्छ ।

प्रदेश सरकारले ‘ट्रायल’ दिएर पास हुनेवित्तिकै अस्थायी लाइसेन्स दिने व्यवस्था गरेको छ । ‘सेवाग्राहीले यसअघि ‘ट्रायल पास’ भएको लामो समयसम्म लाइसेन्स प्राप्त गर्न सक्दैन थिए,’ मन्त्री भण्डारी भन्छन्, ‘अहिले ‘ट्रायल पास’ गर्नेलाई २४ घण्टाभित्र अस्थायी लाइसेन्स छापेर दिने व्यवस्था मिलाइएको छ ।’

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×