राष्ट्रियसभामा पनि ओली र लेखक रिहाइको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार १६:४८

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभा बैठकमार्फत पनि पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।

राष्ट्रियसभा बैठकमा बोल्दै एमाले सांसद प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण भएको आरोप लगाए । उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै सरकारका कामको समर्थन वा विरोध गुण र दोषका आधारमा हुने स्पष्ट पारे ।

Advertisement

दंगालले ओली र लेखकलाई मध्यरातमा ‘आतंककारीजस्तो व्यवहार’ गर्दै पक्राउ गरिएको भन्दै सरकारको नियतमाथि गम्भीर प्रश्न उठाए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई उनले मिथ्या र पूर्वाग्रही भन्दै तत्काल खारेज गर्न माग गरे ।

एमालेले बिना शर्त रिहाइ, मन्त्रिपरिषद्को चैत १३ को निर्णय फिर्ता तथा सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा निष्पक्ष छानबिन आयोग गठन गर्नुपर्ने अडान दोहोर्‍याएको छ । दंगालले दुई पटक मृगौला प्रत्यारोपण गरिसकेका ओलीलाई अपमानजनक ढंगले पक्राउ गरिएको भन्दै मानवीय संवेदनासमेत उल्लंघन भएको आरोप लगाए ।

साथै, एमाले कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र सुर्खेतस्थित पार्टी कार्यालयमा भएको आक्रमणको पनि एमालेले भर्त्सना गरेको छ । एमालेले प्रतिनिधिसभा बैठकमा पनि ओली र लेखक रिहाइको माग गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.