
काठमाडौं । राष्ट्रियसभामा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबार बसेको बैठकमार्फत उक्त मिति घोषणा गरेका हुन् ।
अध्यक्ष दाहालका अनुसार राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया अघि बढाइएको हो । उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिएका छन् ।
त्यसैगरी, राष्ट्रियसभाअन्तर्गत रहेका विषयगत समितिहरूका रिक्त सभापति पदहरूको निर्वाचन चैत २४ गते गर्ने निर्णय पनि गरिएको छ । यसका लागि राष्ट्रियसभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न भनिएको छ ।
उपाध्यक्ष र समिति सभापतिहरूको निर्वाचन प्रक्रिया अगाडि बढेसँगै राष्ट्रियसभाको आन्तरिक संरचना पूर्ण बनाउने तयारी गरिएको देखिन्छ । यसअघि केही पदहरू रिक्त रहेकाले कार्यसम्पादनमा असर परेको बताइँदै आएको थियो ।
यसैबीच, राष्ट्रियसभाको अर्को बैठक चैत २२ गते आइतबार बस्ने तय गरिएको छ । उक्त बैठकमा आगामी निर्वाचन प्रक्रिया र अन्य कार्यसूचीमा छलफल हुने बताइएको छ ।
























