
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले ओलम्पिक खेलेकी पहिलो नेपाली महिला खेलाडी तेक्वान्दोकी सँगिना वैद्यलाई बिहीबार सम्मान गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सँगिनासहित विभिन्न क्षेत्रका ७५ प्रथम महिलालाई सम्मान गरिएको थियो । सँगिनाले २००४ को एथेन्स ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेकी थिइन् । ओलम्पिकमा छनोट चरण पार गरेर खेल्ने सँगिना पहिलो महिला मात्र नभई समग्रमा पहिलो नेपाली खेलाडी हुन् ।
सँगिनासँगै तेक्वान्दोका दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक र टेबल टेनिसका श्यान्टू श्रेष्ठले २०२४ को पेरिस ओलम्पिक छनोट चरण पार गर्दै खेलेका थिए ।
अस्ट्रेलियाको मेलबर्नमा सन् १९९६ मा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता सँगिनाले आठौँ र नवौँ दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी थिइन् ।
पूर्व राष्ट्रपति डा. रामवरण यादव, नेपाल चेम्बर महिलाकी अध्यक्ष उर्मिलालगायतले सँगिनासहितलाई एक कार्यक्रमबीच कदर पत्रसहित सम्मान गरे ।



















