मधेश केन्द्रित दलहरूबीच पार्टी एकताको गृहकार्य सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार १८:१९

काठमाडौं। तराई मधेशलाई कार्यक्षेत्र बनाएका राजनीतिक दलहरूले आफ्नो संयुक्त मोर्चा ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ लाई विघटन गरी पार्टी एकता गर्ने दिशामा गम्भीर छलफल अघि बढाएका छन्। बबरमहलस्थित तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकमा बदलिँदो राजनीतिक परिस्थितिमा मोर्चाभन्दा पनि एउटै बलियो पार्टी आवश्यक रहेको निष्कर्ष निकालिएको हो।

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समन्वय समितिका नेता रामकुमार शर्माका अनुसार मोर्चामा आबद्ध र बाहिर रहेका दलहरूबिच एकता गर्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको छ। जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको उक्त बैठकमा अन्य पार्टीका अध्यक्षहरू उपत्यका बाहिर रहेका कारण उपस्थित हुन नसके पनि एकताका लागि सकारात्मक सन्देश प्राप्त भएको छ। संरक्षक ठाकुरले चाँडै सबै दलका अध्यक्षहरूलाई बोलाएर निर्णायक छलफल गर्ने तयारी गरेका छन्।

Advertisement

सङ्घीय लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी आबद्ध छन्। यी दलहरूबाहेक बाहिर रहेका अन्य शक्तिहरूलाई समेत समेटेर एउटै राष्ट्रिय पार्टी बनाउने गृहकार्य भइरहेको छ। नेता शर्माले अब पुरानै कार्यशैली र नेतृत्वले मात्रै देश चल्न नसक्ने उल्लेख गर्दै शीर्ष नेताहरूलाई उच्च सम्मानसहितको स्थान दिएर कार्यकारी नेतृत्वमा युवा पुस्तालाई ल्याउनुपर्ने सुझाव दिएका छन्।

पार्टी एकताको यो प्रयासमा मधेशी, थारु, जनजाति र खस आर्य समेतको भावनालाई समेट्ने लक्ष्य राखिएको छ। युवा पुस्ताको नेतृत्वमा हिमाल, पहाड र तराई मधेश सबैलाई जोड्ने गरी विचार र राजनीतिमा समय अनुकूल परिमार्जन आवश्यक रहेको बैठकको ठम्याई छ। साथै, छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई थप विश्वसनीय र मैत्रीपूर्ण बनाउनका लागि समेत एकीकृत शक्ति निर्माण हुनुपर्नेमा जोड दिइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.