‘मास्टर्नी’ले उठायो प्रश्न : कलाकारको स्वतन्त्रता कि शिक्षकको अपमान ?

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण २, शनिबार ०८:३२

विराटनगर । चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको गायक दुर्गेश थापाको लोकदोहोरी शैलीको गीतले यतिबेला देशभर तीव्र विवाद निम्त्याएको छ ।

सामाजिक सञ्जालदेखि विद्यालय, शिक्षक समुदाय र सांगीतिक क्षेत्रसम्म गीतका शब्द, दृश्य र शिक्षक पात्रको प्रस्तुतिलाई लिएर व्यापक आलोचना भएपछि अन्ततः नायिका तथा चलचित्रकी निर्मात्री प्रियंका कार्की र गायक दुर्गेश थापाले सार्वजनिक रूपमा माफी माग्दै गीत युट्युबबाट हटाएका छन् । गीतमा शिक्षक पेसाको गरिमा घटाउने, विद्यार्थीमा गलत सन्देश दिने तथा शिक्षकलाई हल्का र अशोभनीय रूपमा प्रस्तुत गरिएको भन्दै नेपाल शिक्षक महासंघसहित शिक्षक समुदायले कडा आपत्ति जनाएको थियो ।

Advertisement

चौतर्फी विरोध चुलिएपछि दुवैले आफ्नो उद्देश्य कसैको भावना वा सम्मानमा चोट पुर्‍याउने नभएको स्पष्ट पार्दै गल्ती स्वीकार गरेका हुन् । चलचित्रकी निर्मात्री समेत रहेकी प्रियंका कार्कीले आफ्नो पहिलो निर्माण प्रयासमा कसैको आस्था वा सम्मानमा ठेस पुर्‍याउने नियत नरहेको बताउँदै अन्जानमा कमजोरी भएको स्वीकार गरेकी छन् । उनले विवादित गीत चलचित्रको प्रचारका लागि मात्रै तयार गरिएको स्पष्ट पारिन् ।

त्यसैगरी, गायक दुर्गेश थापाले पनि आलोचना र सुझावलाई आत्मसात् गर्दै आफ्नो आधिकारिक युट्युब च्यानलबाट गीत हटाइसकेको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो उद्देश्य कुनै पनि पेसा वा व्यक्तिको भावनामा चोट पुर्‍याउने कदापि थिएन । प्राप्त सुझाव र आलोचनालाई आत्मसात् गर्दै मैले आफ्नो युट्युब च्यानलबाट उक्त गीत हटाइसकेको छु ।’

यसअघि गीत सार्वजनिक भएलगत्तै सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले शिक्षक पेसालाई मनोरञ्जनको विषय बनाइएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । गीत संगीत क्षेत्रमा सक्रिय धेरै कलाकारले समेत यस्तो प्रस्तुतिलाई उचित नरहेको टिप्पणी गरेका छन् ।

प्रधानाध्यापक संघ नेपालका केन्द्रीय सदस्य विश्वरसिंह मेवाहाङ राईले गीतले एउटा पात्र मात्र नभएर सम्पूर्ण शिक्षक समुदायको आत्मसम्मानमाथि चोट पुर्‍याएको बताए । ‘देशभर करिब अढाइ लाख शिक्षक कार्यरत छन्,’ उनले भने, ‘यस्ता सामग्रीले उनीहरूको सामाजिक सम्मानमा प्रत्यक्ष असर पुर्‍याउँछ ।’

राईले देशभर अध्ययनरत करिब ७० लाख विद्यार्थीले आफ्ना शिक्षकलाई हेर्ने दृष्टिकोणमै नकारात्मक प्रभाव पर्ने खालका दृश्य प्रस्तुत गरिएको आरोप लगाए । उनले यस्ता अशोभनीय तथा सामाजिक मर्यादाविपरीतका सामग्री तत्काल रोक्न सम्बन्धित निकायसँग मागसमेत गरेका छन् । उनका अनुसार शिक्षकप्रतिको सम्मान घटेमा विद्यालयको सिकाइ वातावरण र विद्यार्थीको व्यवहारमा समेत प्रतिकूल असर पर्न सक्छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव शिव हमालले विवादित गीत प्रतिष्ठानको प्रत्यक्ष कार्यक्षेत्रभित्र नपरे पनि सामाजिक प्रभाव पार्ने विषयमा राज्यका नियामक निकाय समयमै जिम्मेवार बन्नुपर्ने धारणा राखे । उनले यस्ता विषयमा नियमनकारी निकाय सक्रिय हुनुपर्ने बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान संखुवासभाका अध्यक्ष नवीन दाहालले संस्थागत रूपमा टिप्पणी गर्न नमिल्ने भए पनि व्यक्तिगत रूपमा यस्ता सिर्जनाले कला, शिक्षा पेसा र समग्र समाजमा नकारात्मक प्रभाव पार्न सक्ने बताए । उनका अनुसार कुनै पनि गीतमा दोहोरो अर्थ लाग्ने वा गलत सन्देश दिने शब्द प्रयोग गर्नु उपयुक्त हुँदैन ।

दाहालले कलाकारलाई सिर्जनात्मक स्वतन्त्रता भए पनि त्यसले कुनै व्यक्ति, पेसा वा समुदायको सम्मानमा आघात पुर्‍याउन नहुने बताए । नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरे पनि त्यो स्वतन्त्रता सामाजिक उत्तरदायित्व, नैतिक मर्यादा र सार्वजनिक हितसँग सन्तुलित हुनुपर्ने उनको भनाइ छ ।

बुद्धिजीवीहरूको धारणा पनि यस्तै छ । उनीहरूका अनुसार गीत, चलचित्र वा डिजिटल सामग्रीले समाजमा सोच निर्माण गर्ने भएकाले मनोरञ्जनसँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विशेषगरी शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्ता सार्वजनिक विश्वाससँग जोडिएका पेसालाई प्रस्तुत गर्दा थप संवेदनशील हुनुपर्ने उनीहरूको सुझाव छ ।

‘मास्टर्नी’ गीत विवादले कलाकारको सिर्जनात्मक स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीचको सन्तुलनका बारेमा नयाँ बहस सुरु गराएको छ । अन्ततः व्यापक आलोचनापछि गीत हटाइनु र सम्बन्धित पक्षले माफी माग्नुले सिर्जनात्मक स्वतन्त्रतासँगै सामाजिक संवेदनशीलता पनि उत्तिकै आवश्यक हुने सन्देश दिएको सरोकारवालाहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×