पोखरासँग ५५ रनले हार्दै काठमाडौं शीर्ष दुईमा पर्न असफल

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार २१:२०

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । पोखराले सान्त्वना जित निकाल्दा काठमाडौं भने शीर्ष दुईमा रहँदै क्वालिफायर–१ खेल्ने अवसरबाट वञ्चित भएको छ।

पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमै अलआउट भयो । यो हारसँगै काठमाडौं ७ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा सीमित भएको छ।

अब ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सबीच क्वालिफायर–१ हुनेछ। काठमाडौंले भने चौथो स्थानको चितवन राइनोजसँग प्लेअफको अर्को खेल खेल्नेछ। लिगको पुछारमा रहेको पोखराले जितसँगै ७ खेलबाट ४ अंक जोडेर प्रतियोगिता टुंग्याएको छ।

काठमाडौंका लागि साहिल पटेलले सर्वाधिक ३४, राशिद खानले ३१, विलियम बोसिस्टोले २६ र जहान्दाद खानले २४ रन बनाए। अन्त्यतिर सोनु देवकोटाले १४ बलमा चार छक्कासहित आक्रामक २९ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्। पोखराका दिनेश खरेलले चार ओभरमा १८ रन खर्चेर सर्वाधिक चार विकेट लिए। विपिन खत्रीले तीन तथा सन्नी बिके, रमेश मेन्डिस र युवराज सम्राले समान एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनाएको थियो। पोखराका कुशल भुर्तेल र युवराज सम्राले दोस्रो विकेटका लागि १८६ रनको विशाल साझेदारी गरे।

भुर्तेल शतक बनाउन एक रनले चुके। उनले ५१ बलमा आठ चौका र आठ छक्काको मद्दतमा ९९ रन बनाए। त्यस्तै, सम्राले ५५ बलमा आठ चौका र पाँच छक्कासहित ८९ रनको योगदान दिए। दुवै खेलाडी १९औँ ओभरमा करण केसीको बलमा आउट भएका थिए।

अन्त्यतिर पोखराका कप्तान चमिका करुणारत्नेले सात बलमा एक चौका र दुई छक्कासहित अविजित १९ रन बनाए। काठमाडौंका करण केसीले दुई तथा जहान्दाद खानले एक विकेट लिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.