रतुवामाईमा नेपाली र भारतीयको तास खेल्ने अड्डा, सात जना पक्राउ

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३०, सोमबार ०८:२९

विराटनगर । मोरङको रतुवामाईमा नेपाली र भारतीय नागरिकको तास खेल्ने अड्डामा प्रहरीले छापा हानेको छ ।

नेपाली र भारतीय भेला भएर तास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट नेपाली र भारतीय गरेर ३५ हजार २२० रुपैयाँ, चारवटा मोटरसाइकल, सातवटा मोबाइल र तीन बुङ तास बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

रतुवामाई नगरपालिका–७ कपर सुख्खा बोका टोलस्थित दिनेश सुतिहारको मान्छे नभएको घरमा जुवातास खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले सोमबार बिहानका राति ३ः३० बजेतिर छापा मारेको थियो । इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलास लिम्बूको नेतृत्वमा खटिएको टोलीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–२ का ३३ वर्षीय अरुणकुमार गनगाई, ३२ वर्षीय उपेन्द्रप्रसाद गनगाई र रतुवामाई–७ का ४६ वर्षीय कपिल साह रहेका छन् । त्यस्तै, भारतको किशनगन्ज जिल्ला पक्खली पञ्चायत डुमरिया–४ का ३५ वर्षीय अजय सोनार, ३० वर्षीय सुरज शाह र २८ वर्षीय राजु सोनार तथा डुमरिया–७ का २२ वर्षीय सुरज मण्डल पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली रुपैयाँ १५ हजार ७०० र भारतीय रुपैयाँ १९ हजार ५२० बरामद गरेको जनाएको छ । साथै, तीन बुङ तास, सातवटा मोबाइल र चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको एसपी कटवालले बताए ।

प्रहरीका अनुसार बरामद मोटरसाइकलमध्ये अरुणकुमार गनगाईको बीआर ३८ एआर ३२१३२, सुरज शाहको को १–०१–०१८ प १६४०, कपिल साहको को १–०२–०५३ प ८७६६ र राजु सोनारको बीआर ३७ एएल ४८९४ नम्बरका छन् । पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी एसपी कटवालले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.