
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या बढ्दै जाँदा तिनको सुरक्षित भण्डारण र पहिचान ठूलो चुनौती बनेको छ ।
बाढीपछि शवको चाङ लाग्दा व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको हो । नदीले बगाएर ल्याएका मानव तथा पशुका शव नारायणी र त्रिशूली नदी किनारलगायतका क्षेत्रमा भेटिएपछि उद्धार र व्यवस्थापनमा खटिएका निकायमाथि थप दबाब परेको छ ।
नेपाल प्रहरीका अनुसार भोटेकोशी बाढीपछि हालसम्म साढे पाँच सयभन्दा बढी शवहरु फेला परिसकेका छन् । तीमध्ये अधिकांशको पहिचान हुन बाँकी छ । नदीमा बगेर आएका शव भेटिने क्रम अझै जारी रहेकाले आगामी दिनमा व्यवस्थापनको चुनौती थप बढ्न सक्ने देखिएको छ ।
चितवनमा भेटिएका शवहरु उद्योग वाणिज्य संघको परिसरमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हालसम्म केही शवको मात्रै पहिचान खुलेको छ भने बाँकी शवको पहिचानका लागि प्रक्रिया अघि बढाइएको छ ।
भरतपुर अस्पतालमा पनि शवको चाप अत्यधिक बढेको छ । अस्पतालसँग एकपटकमा करिब २४ वटा शव राख्न सक्ने क्षमता भए पनि विपद्पछि २३३ वटा शव ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । क्षमता सीमित भएपछि शवगृह बाहिर टेन्ट राखेरसमेत शव व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ ।
भरतपुर अस्पतालमा ल्याइएका शवको सरसफाइ गर्ने, अनुहारको तस्बिर खिच्ने, शरीरमा रहेका पहिचानयोग्य चिह्न तथा अन्य विवरण अभिलेख गर्ने र नम्बर दिने काम भइरहेको छ । त्यसपछि शवलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राख्ने गरिएको छ । तर, पर्याप्त ठाउँ नहुँदा शव व्यवस्थापनमा कठिनाइ भइरहेको अस्पताल प्रशासनको भनाइ छ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालमा बिरामीको उपचारसँगै ठूलो संख्यामा शवको व्यवस्थापन गर्नुपर्दा जनशक्ति र पूर्वाधार दुवैतर्फ दबाब परेको छ । शवगृह नजिक रहेका बिरामी तथा स्वास्थ्यकर्मीलाई असर नपरोस् भनेर विशेष सावधानी अपनाउनु परेको उनले बताए ।
विशेषज्ञ चिकित्सकहरूले लामो समयसम्म शव व्यवस्थापन हुन नसक्दा स्वास्थ्य जोखिमसमेत बढ्न सक्ने बताएका छन् । नदीमा लामो समय डुबेका वा बाहिर रहेका शव छिट्टै बिग्रन सक्ने भएकाले त्यसलाई सुरक्षित राख्ने उपयुक्त व्यवस्था आवश्यक हुन्छ । शवबाट निस्कने तरल पदार्थ तथा दुर्गन्धका कारण वरपरको वातावरण प्रभावित हुन सक्ने भएकाले व्यवस्थापनमा ढिलाइ नगर्न चिकित्सकहरूको सुझाव छ ।
देशभरका अस्पतालको शव भण्डारण क्षमता भने विपद्को तुलनामा निकै न्यून छ । फरेन्सिक विशेषज्ञहरूका अनुसार नेपालका अस्पतालमा रहेका डिप–फ्रिज तथा अन्य संरचनाबाट एकैपटक करिब ३०० देखि ३५० वटासम्म शव मात्रै सुरक्षित राख्न सकिने अवस्था छ । ठूलो विपद्का बेला हजारौँको संख्यामा शव व्यवस्थापन गर्नुपर्ने अवस्था आएमा अहिलेको पूर्वाधार पर्याप्त नहुने देखिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा १५० वटा शव राख्न सक्ने क्षमता रहेको छ । त्यहाँ राखिएका २५ शवमध्ये चार जनाको पहिचान भएको र बाँकीको पहिचान हुन नसकेको अस्पतालले जनाएको छ । शवको पहिचानका लागि सुरुमा दृश्य पहिचान, कपडा तथा व्यक्तिगत सामग्री, शरीरमा रहेका जन्मजात चिन्ह, ट्याटु, खत, कोठी तथा अन्य विवरणको अध्ययन गरिन्छ ।
सामान्य प्रक्रियाबाट पहिचान हुन नसकेमा औंठाछाप, दन्त परीक्षण र डीएनए परीक्षणजस्ता वैज्ञानिक विधि अपनाउने व्यवस्था छ । सरकारी निकायसँग रहेको औंठाछापको विवरण भिडाउने तथा आवश्यक परे अन्य वैज्ञानिक परीक्षणमार्फत मृतकको पहिचान गर्ने प्रक्रिया अघि बढाइन्छ ।
फरेन्सिक विज्ञहरूले पहिचान हुन नसकेका शवको व्यवस्थापनका लागि अस्थायी रूपमा सुरक्षित स्थानमा गाड्ने विकल्पलाई पनि वैज्ञानिक र व्यावहारिक उपायका रूपमा अघि सारेका छन् । शवको सम्पूर्ण विवरण अभिलेख गरेर डीएनए नमुना सुरक्षित राख्दै उपयुक्त स्थानमा व्यवस्थित रूपमा राख्न सकिने उनीहरूको सुझाव छ ।
शवलाई लामो समयसम्म सुरक्षित राख्न रासायनिक पदार्थ वा अन्य अस्थायी उपायको प्रयोग गर्दा थप स्वास्थ्य जोखिम निम्तिन सक्ने विज्ञहरूको चेतावनी छ । त्यसैले तत्कालका लागि उपलब्ध चिस्यान प्रविधि, ठूला खाली संरचना वा अन्य सुरक्षित स्थानको प्रयोग गर्न सकिने विकल्पका बारेमा पनि छलफल भइरहेको छ ।
काठमाडौं उपत्यकाका अस्पतालहरूमा समेत शव राख्ने क्षमता सीमित रहेको छ । ट्रमा सेन्टरमा दुईवटा फ्रिजर मात्रै रहेकाले ठूलो संख्यामा शव राख्न सम्भव छैन । विपद्पछि अस्पतालमा उपचाररत बिरामी व्यवस्थापनसँगै शवको सुरक्षित भण्डारण अर्को गम्भीर चुनौती बनेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
सरकारले भने पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ अनुसार प्रक्रिया अघि बढाइरहेको छ । निर्देशिकाअनुसार शव भेटिएपछि प्रहरीले सुरक्षित राख्ने, स्थानीय तह तथा वडा प्रतिनिधिलाई जानकारी दिने र आवश्यक मुचुल्का तयार गर्ने व्यवस्था छ ।
पहिलो चरणमा शवको फोटो, शारीरिक अवस्था, लत्ताकपडा र व्यक्तिगत सामग्रीका आधारमा पहिचान गर्ने प्रयास गरिन्छ । त्यसबाट पहिचान हुन नसके वैज्ञानिक परीक्षणतर्फ जाने व्यवस्था छ । लामो प्रयासपछि पनि पहिचान हुन नसकेमा सम्बन्धित निकायको अभिलेखमा त्यसलाई पहिचान नभएको वा बेवारिसे शवका रूपमा राख्ने कानुनी प्रक्रिया रहेको छ ।
भोटेकोशी बाढीपछि देखिएको अवस्थाले नेपालमा ठूला विपद्का बेला उद्धार र उपचारसँगै मृतकको शव व्यवस्थापनका लागि छुट्टै पूर्वतयारी आवश्यक रहेको देखाएको छ । सीमित शवगृह, अपर्याप्त डिप–फ्रिज, जनशक्तिको अभाव र पहिचान प्रक्रिया लामो हुने अवस्थाका कारण अहिले अस्पताल र सुरक्षा निकायमाथि एकैपटक ठूलो दबाब परेको छ ।
विशेषज्ञहरूले तत्कालका लागि अस्थायी शव व्यवस्थापनस्थल तयार पार्न, पहिचान प्रक्रिया तीव्र बनाउन र आवश्यक वैज्ञानिक परीक्षणका लागि नमुना सुरक्षित राख्न सुझाव दिएका छन् । दीर्घकालीन रूपमा भने हरेक प्रदेशमा ठूला विपद्का बेला प्रयोग गर्न सकिने शव व्यवस्थापन तथा फरेन्सिक पूर्वाधार विकास गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।



















