
नेपालमा बाढीका घटना नयाँ होइनन् । विगतमा पनि ठूला बाढीले बस्ती, खेतीपाती, सडक, पुल र अन्य संरचनामा ठूलो क्षति पुर्याएका छन् । तर, रसुवामा पछिल्लो पटक देखिएको बाढीले बाढीको जोखिमलाई हेर्ने हाम्रो पुरानो दृष्टिकोणमाथि नै प्रश्न उठाएको छ ।
२०११ सालको बाढीलाई नेपालमा ठूलो बाढीमध्ये एक मानिन्छ । त्यसअघि २००६ सालको बाढीलाई ठूलो मानिन्थ्यो । २०११ सालको बाढीपछि नेपालको भूगोलमै परिवर्तन आएको, बस्तीहरू विस्थापित भएको र सिन्धुली, रामेछाप तथा धादिङसम्म ठूलो क्षति पुगेको विवरण पाइन्छ ।
२०३८ सालमा ललितपुरको लेलेस्थित नन्दु भारदेवमा आएको बाढीले थुपारेको गेग्रान लामो समयसम्म जमिनमा रह्यो । खेती गर्न थालेका किसानसमेत त्यहाँबाट पलायन हुनुपर्यो। सन् २०१७ को तराई बाढीमा पनि ठूलो आर्थिक क्षति भयो । त्यसबेला भौतिक संरचना र खेतीपातीमा बढी असर परेको थियो ।
अहिलेको घटनाले भने मानवीय क्षतिसँगै बाढीको प्रकृति र भविष्यको जोखिमबारे पनि गम्भीर प्रश्न खडा गरेको छ ।
बाढी भनेको पानी मात्रै होइन
रसुवाको घटनालाई सामान्य रूपमा ‘धेरै पानी परेर आएको बाढी’ भनेर मात्रै बुझ्न नहुने विज्ञहरूको भनाइ छ । घटनाको प्रारम्भिक विवरणमा हिम वा चट्टानको ठूलो पहिरो गएको हुन सक्ने कुरा आएको छ । त्यस क्षेत्रमा भूकम्प गएको हो कि चट्टानी पहिरो खस्दा त्यसको कम्पन आएको हो भन्ने विषयसमेत अध्ययन गर्नुपर्ने देखिन्छ ।
यदि चट्टानी पहिरोका कारण ठूलो बाढी आएको हो भने यो नेपालका लागि बिल्कुल नयाँ घटना होइन । सन् २०१२ मा पोखराको सेती नदीमा आएको भीषण बाढीमा पनि सुरुमा ठूलो हिमताल फुटेको आशंका गरिएको थियो । पछि माथिल्लो क्षेत्रमा ठूलो चट्टानी पहिरो गएको कुरा आएको थियो ।
यसपटक पनि हिम, चट्टान, पानी र गेग्रानमध्ये धेरै कुरा एकै ठाउँमा मिसिएर एक्कासि ठूलो परिमाणमा पानी र गेग्रान तल आएको हुन सक्ने अनुमान गरिएको छ ।
यसले एउटा महत्त्वपूर्ण कुरा देखाउँछ– बाढी भनेको धेरै पानी पर्नु मात्रै होइन ।
माथिल्लो जलाधार क्षेत्रमा हुने भौगर्भिक गतिविधि, हिम र बरफको अवस्था तथा चट्टानी पहिरोले पनि एक्कासि विनाशकारी अवस्था सिर्जना गर्न सक्छ ।
जलवायु परिवर्तनले बढाउँदैछ जोखिम ?
विश्वव्यापी तापक्रम बढ्दै जाँदा हिमनदीहरू पग्लिरहेका छन् र हिमतालहरू ठूलो हुँदै गएका छन् । उच्च हिमाली क्षेत्रमा बरफसँग जोडिएका चट्टान र ढलानमा पनि परिवर्तन भइरहेको हुन सक्ने विज्ञहरूको आकलन छ ।
तापक्रम बढेसँगै मौसमी गतिविधिमा पनि परिवर्तन देखिएको छ। पछिल्ला वर्षमा हरेक वर्षजसो कुनै न कुनै ठाउँमा ठूलो प्राकृतिक घटना देखिन थालेको छ । तर, रसुवाको पछिल्लो घटना जलवायु परिवर्तन वा विश्वव्यापी तापक्रम वृद्धिकै कारण भएको हो भनेर अहिले नै निष्कर्ष निकाल्न भने मिल्दैन । घटनामा जलवायु परिवर्तनको भूमिका कति छ भन्ने कुरा थप अध्ययनबाट मात्रै स्पष्ट हुने देखिन्छ ।
यसकारण अहिलेको घटनालाई जलवायु परिवर्तनको प्रत्यक्ष परिणामभन्दा पनि बदलिँदो वातावरणीय र भौगर्भिक जोखिमको एउटा संकेतका रूपमा हेर्नुपर्ने अवस्था छ ।
हिमतालको जोखिम देखिन्छ, हिमपहिरोको अनुमान कठिन
हिमतालको अवस्था निगरानी गरेर जोखिम कम गर्ने उपाय अपनाउन सकिन्छ । हिमताल हरेक वर्ष विस्तारै ठूलो हुने भएकाले यसको सतह घटाउने उपायसमेत गर्न सकिन्छ । नेपालको च्छो रोल्पामा पानी ‘साइफोनिङ’ गरेर बाहिर निकालिएको उदाहरण छ । पानीको सतह घटेपछि जोखिम पनि कम हुन्छ ।
तर, हिमपहिरोको अवस्था फरक छ ।
हिउँ वा बरफको ठूलो ढिस्को कुन बेला खस्छ भन्ने अनुमान गर्न निकै कठिन हुन्छ । पहिरो जानुअघि त्यसको मुनि पानीको बहाव कहाँ बढिरहेको छ, कहाँ हिउँ वा बरफ पग्लिरहेको छ भन्ने निगरानी गर्नु पनि सहज छैन ।
यस विषयमा विज्ञान र प्रविधिले धेरै कुरा बुझ्न मद्दत गरे पनि सबै प्राकृतिक घटना पूर्वानुमान गर्न सकिने अवस्थामा हामी अझै पुगेका छैनौँ ।
स्याटेलाइट तस्बिर, भिडियो तथा अन्य वैज्ञानिक सूचनाले जोखिमबारे बुझ्न पहिलेभन्दा धेरै सहयोग गरेको छ । तर, त्यससँगै प्राकृतिक जोखिम कति जटिल बन्दै गएको छ भन्ने पनि स्पष्ट हुँदै गएको छ ।
अब प्रश्न– बस्ती कहाँसम्म सुरक्षित ?
रसुवाको घटनाले सबैभन्दा गम्भीर प्रश्न यही उठाएको छ- बाढीको जोखिमबाट सुरक्षित ठाउँ आखिर कुन हो ?
सामान्यतया नदी तथा खोलामा आउने बाढीको अनुमान गरेर बस्ती र संरचना बनाउने गरिन्छ । हरेक वर्ष आउने सामान्य बाढी र १०, २५, ५० वा १०० वर्षमा एकपटक आउन सक्ने ठूलो बाढीको जोखिम फरक हुन्छ ।
पुल तथा अन्य संरचना पनि निश्चित तहसम्मको बाढीलाई आधार मानेर डिजाइन गरिन्छ । तर, ५० वर्षमा आउन सक्ने बाढीलाई आधार बनाएर बनाइएका संरचनासमेत बग्न थाले भने पुरानो हिसाबले मात्रै जोखिम व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठ्छ ।
स्याफ्रुबेँसीमा डाँडासम्म भएका घरसमेत बगेको विवरणले समस्या अझ गम्भीर देखाउँछ । त्यहाँ पानी मात्रै आएको थिएन, पानीसँगै ठूलो मात्रामा गेग्रान पनि आएको थियो । गेग्रानले पानीको तहलाई थप माथि उठाउन सक्छ ।
त्यसैले अब ‘खोलाको छेउमा नबस्नू’ भन्ने सामान्य चेतावनी मात्रै पर्याप्त नहुन सक्छ । कहाँसम्म सुरक्षित हो र कहाँबाट जोखिम सुरु हुन्छ भन्ने वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्ने अवस्था आएको छ ।
उद्धार सकिएपछि सुरु हुन्छ अर्को ठूलो चुनौती
विपद्को समयमा पहिलो प्राथमिकता उद्धार नै हो । रसुवाको घटनामा पनि सुरक्षा संयन्त्र, स्थानीय बासिन्दा तथा अन्य निकाय उद्धारमा सक्रिय देखिएका छन् ।
तर, उद्धार र राहतपछि राज्यको सबैभन्दा ठूलो चुनौती सुरु हुन्छ ।
कति मानिस विस्थापित भए ? कसको घर गयो ? कसको जग्गा बग्यो ? कसको खेती नष्ट भयो ? सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य संरचनाको क्षति कति भयो ? यी प्रश्नको जवाफ खोजेर पुनर्स्थापना सुरु गर्नुपर्ने हुन्छ ।
बाढीपछि पाल र राहत सामग्री वितरण गरेर मात्रै समस्या समाधान हुँदैन । कसैको घर गएको हुन्छ, कसैको जग्गा । कसैको खेती नै समाप्त भएको हुन सक्छ । रोजीरोटीको आधार गुमेपछि उनीहरू कहाँ जाने र कसरी जीवन चलाउने भन्ने प्रश्न उठ्छ ।
त्यसैले पुनर्स्थापना भनेको घर बनाएर दिनु मात्रै होइन । मानिसलाई फेरि खेती, व्यापार तथा अन्य आर्थिक गतिविधिमा फर्किन सक्ने अवस्था बनाउनु पनि पुनर्स्थापनाकै हिस्सा हो ।
सडक र पुलभन्दा ठूलो कुरा स्थानीय अर्थतन्त्र
विपद्ले सडक वा पुल मात्रै बगाउँदैन । त्यससँग जोडिएको स्थानीय अर्थतन्त्र पनि प्रभावित हुन्छ ।
एउटा गाउँको अर्को गाउँसँगको सम्पर्क टुट्दा व्यापार रोकिन्छ । आवतजावत बन्द हुँदा स्थानीय उत्पादन बजारसम्म पुग्न सक्दैन । जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा भएको क्षतिले राज्यको वर्षौँको लगानीलाई पछाडि धकेल्छ ।
त्यसैले पुनर्निर्माणको कामलाई केवल भौतिक संरचना बनाउने विषयका रूपमा हेर्न मिल्दैन । सडक र पुल बनेपछि मात्रै स्थानीय जीवन सामान्य अवस्थामा फर्किन्छ भन्ने पनि हुँदैन। त्यससँगै मानिसको आयआर्जन र आर्थिक गतिविधि कसरी पुनः सुरु गर्ने भन्ने योजना आवश्यक हुन्छ ।
अबको तयारी कस्तो ?
रसुवाको घटनाले नेपाललाई एउटा स्पष्ट सन्देश दिएको छ– विगतको बाढीको अनुभवका आधारमा मात्रै भविष्यको जोखिमको अनुमान गर्न सकिँदैन ।
हिमतालको नियमित निगरानी, उच्च हिमाली क्षेत्रमा चट्टान र बरफको अवस्थाको अध्ययन, नदीको बहावको नयाँ ढाँचामा मूल्यांकन, बस्तीका लागि सुरक्षित क्षेत्र निर्धारण तथा पूर्वाधारको डिजाइनमा बदलिँदो जोखिमलाई समेट्नु आवश्यक देखिन्छ ।
त्यससँगै अहिले प्रभावित भएका मानिसलाई उद्धार र राहतपछि बिर्सने प्रवृत्ति बदल्नुपर्ने चुनौती पनि छ । विस्थापित परिवारको दीर्घकालीन पुनर्स्थापना, रोजीरोटीको पुनःस्थापना र जोखिमयुक्त क्षेत्रमा रहेका अन्य बस्तीको पहिचान अब उत्तिकै महत्त्वपूर्ण विषय हुन् ।
नेपालले विगतमा ठूला बाढी देखेको छ । तर, पछिल्ला घटनाले एउटा फरक प्रश्न उठाइरहेका छन्– हामीले अहिलेसम्म बाढीलाई जति ठूलो मानेका थियौँ, भविष्यको जोखिम त्योभन्दा पनि ठूलो हुन सक्छ कि ?
यसको जवाफ खोज्ने काम विपद् आएपछि होइन, विपद् आउनुअघि नै सुरु गर्नुपर्ने देखिन्छ ।
(यो बाढीपहिरो सम्बन्धी विभिन्न अध्ययत प्रतिवेदन र विज्ञहरूको मतका आधारमा तयार पारिएको जानकारीमूलक सामग्री हो।)

























