
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै कायम देखिएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी थुनिएर बनेको ताल फुट्न सक्ने जोखिम रहेकाले भोटेकोशीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल भोटेकोशी र त्रिशूली नदीमा जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएकाले जोखिम कायमै रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषण गर्दा भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको ताल विस्तार हुँदै गएको देखिएको छ ।
‘नदी थुनिएर बनेको ताल बढ्दै गएको र फुट्ने जोखिम देखिएको छ,’ पराजुलीले भने, ‘ताल फुटेमा पानीसँगै ढुङ्गा, माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्छ ।’
उनका अनुसार भोटेकोशीमा यसअघि आएको बाढीपछि अहिले नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि माथिल्लो क्षेत्रमा बनेको ताल फुटेमा तल्लो क्षेत्रमा एक्कासि बाढी आउन सक्ने भएकाले जोखिमलाई सामान्य रूपमा लिन नहुने अवस्था छ । ‘बाढीको खतरा बढेमा पूर्वसूचना जारी गर्नेछौँ,’ पराजुलीले भने ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
महाशाखाले नदीको जलसतह सामान्य रहेको अवस्थालाई मात्रै आधार नबनाई माथिल्लो क्षेत्रमा बनेको तालको अवस्थालाई समेत ध्यान दिन र जारी हुने पूर्वसूचनामा विशेष ध्यान दिन आग्रह गरेको छ ।



















