सगरमाथा आधार शिविरमा मानवीय गतिविधिले हिउँ पग्लने क्रम बढ्दो

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार १४:०३

विराटनगर । सगरमाथा आधार शिविरमा बढ्दो मानवीय गतिविधिका कारण एक आरोहण सिजनमा करिब २५ सय टन हिउँ तथा हिमनदीको बरफ पग्लिन सक्ने एक अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार खाना पकाउन, टेन्ट तताउन र विद्युत् उत्पादन गर्न प्रयोग हुने इन्धनसँगै आरोही तथा सहयोगीहरूले गर्ने गतिविधिबाट उत्पन्न तापले खुम्बु हिमनदीमा थप असर पारिरहेको छ । यसमध्ये मानव पिसाबबाट आउने तापले मात्रै एक सिजनमा करिब १५४ टन बरफ पगाल्न सक्ने अनुमान गरिएको छ ।

Advertisement

सगरमाथा आधार शिविरमा आरोहणको मुख्य समयमा हजारौँ आरोही, गाइड र सहयोगी कर्मचारी बस्छन्। सन् २०२३ को करिब ५० दिनको आरोहण सिजनमा त्यहाँ करिब १ हजार ६ सय टेन्ट सञ्चालनमा रहेका थिए ।

त्यस अवधिमा खाना पकाउन, टेन्ट तताउन तथा विद्युत् उत्पादनका लागि ८२४ सिलिन्डर एलपी ग्यास, १८ हजार ९३५ लिटर मट्टितेल र ५ हजार १३० लिटर पेट्रोल प्रयोग भएको अध्ययनमा उल्लेख छ। यी सबैबाट उत्पन्न तापलाई जोड्दा करिब ८ लाख ४९ हजार १७४ मेगाजुल ऊर्जा उत्पादन भएको र त्यसले करिब २ हजार ४९२ टन हिउँ तथा बरफ पगाल्न सक्ने अनुसन्धानकर्ताको अनुमान छ ।

अध्ययनको चासोको अर्को विषय मानव पिसाब हो। उच्च उचाइमा शरीरमा पानीको कमी नहोस् भनेर आरोहीहरूले धेरै पानी पिउने भएकाले आधार शिविरमा दैनिक ६ हजार लिटरभन्दा बढी पिसाब उत्पादन हुने अनुमान गरिएको छ ।

ठोस फोहोर संकलन गरेर आधार शिविरबाट तल लैजाने व्यवस्था भए पनि ठूलो मात्रामा पिसाब भने सिधै हिमनदीमा जाने गरेको अध्ययनले देखाएको छ । त्यसबाट आउने तापले मात्रै एक सिजनमा करिब १५४ टन बरफ पगाल्न सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

अध्ययनका अनुसार सगरमाथा आधार शिविरमा मानवीय गतिविधिका कारण उत्पन्न हुने वास्तविक तापको प्रभाव अझ बढी हुन सक्छ । अनुसन्धानमा हेलिकप्टर, आरोहीको शरीरबाट निस्कने ताप तथा सामान ओसार्ने याकलगायतका स्रोतको तापलाई समावेश गरिएको छैन ।

अनुसन्धानकर्ताले भने सगरमाथाका हिमनदी पग्लिनुको मुख्य कारण विश्वव्यापी जलवायु परिवर्तन नै भएको स्पष्ट पारेका छन् । आधार शिविरमा हुने मानवीय गतिविधिले त्यसमा स्थानीयस्तरमा थप दबाब सिर्जना गरिरहेको उनीहरूको भनाइ छ ।

सन् १९९१ देखि २०२३ सम्मका भूउपग्रह तस्बिर अध्ययन गर्दा आधार शिविर आसपासको सतहको तापक्रम प्रतिवर्ष औसत ०.२८ डिग्री सेल्सियसका दरले बढेको पाइएको छ । यो खुम्बु हिमनदीको आसपासको हिउँले ढाकिएको क्षेत्रको तापक्रम वृद्धिको तुलनामा करिब दोब्बर हो ।

अनुसन्धानकर्ताले सगरमाथा आधार शिविरलाई हिमनदीमाथिबाट हटाएर स्थिर र बरफरहित जमिनमा सार्ने सम्भावनाबारे पनि सुझाव दिएका छन् । यसले खुम्बु हिमनदीमाथिको मानवीय दबाब घटाउनुका साथै आधार शिविरको दीर्घकालीन सुरक्षामा पनि सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

(‘द न्युयोर्क टाइम्स’ लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा तयार पारिएको रिपोर्ट)

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×