
विराटनगर । सुनसरीको दुहबीमा उद्योगको निर्माणाधीन भवनबाट लडेर मंगलबार बिहान एक जना कामदारको मृत्यु भएको छ ।
दुहबी नगरपालिका–६ घर भएका ३६ वर्षीय वर्षीय महेश्वर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मण्डल दुहबी–८ स्थित सोनापुरमा अरिहन्त ओम एग्रो लिमिटेड कम्पनीको निर्धाणाधीन भवनका मजदुर हुन् । सोनापुरमा खानेतेल उत्पादनका लागि उक्त उद्योग सञ्चालनमा ल्याउन लागिएको थियो ।
फलामको तार बोकेर निर्माणाधीन भवनको सिँढीबाट माथिल्लो तलामा जाँदै गरेका बेला मण्डल बिहान १०ः४५ बजेतिर अचानक चिप्लिएर लडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा लगिएको थियो ।
करिब २० फिटमाथिबाट भुइँमा लडेर गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका हुन् । इलाका प्रहरी कार्यालय दुबहीका इन्स्पेक्टर शिवराम थापा नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।



















