
बिराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले रसुवाको बाढी पीडितहरूको उद्धार, राहत र पुनः स्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।
भोटेकोशी नदीमा आएको बाढीबाट पीडितहरूको उद्धार, राहत र पुनः स्थापनाका लागि हिसान मोरङले ५४ लाख ६५ हजार ८३४ रुपैयाँ हस्तान्तरण गरेको छ।
हिसान मोरङका अध्यक्ष अमित ढकालका अनुसार सदस्य विद्यालयहरूबाट संकलित उक्त रकममध्ये २६ लाख ३३ हजार ५५५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा र २८ लाख ३२ हजार २७९ रुपैयाँ ‘हिसान केन्द्र’ को खातामा जम्मा गरिएको छ ।
बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै हिसान मोरङले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
विपद्को यो कठिन परिस्थितिमा पीडितहरूको उद्धार र पुनः स्थापनाका लागि सरकारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउँदै हिसान मोरङले प्रभावित क्षेत्रमा द्रुत गतिमा पुनः स्थापना र पूर्वाधार निर्माणका कार्य अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।

























