
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संखुवासभाको खाँदबारी नगरपालिका–९ मा निर्माण गर्न लागिएको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको क्षेत्र शुक्रबार अनुगमन गरेका छन् ।
विश्वविद्यालयका लागि उपलब्ध जग्गाको स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा विश्वविद्यालयमा गर्न सकिने कामका विषयमा छलफलसमेत गरेका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार अनुगमनपछि जिल्ला समन्वय समितिको कार्यालयमा विश्वविद्यालयको गुरुयोजनाबारे प्रस्तुति र छलफल भएको थियो ।
मुख्यमन्त्री कार्कीले विशिष्ट प्रकृतिको यस विश्वविद्यालयलाई संसारकै उत्कृष्ट विश्वविद्यालयका रूपमा विकास गर्न सकिने बताए । विश्वविद्यालयलाई यथाशीघ्र सञ्चालनमा ल्याउन प्रदेश सरकारले आफ्नो सीमित स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
विश्वविद्यालयका लागि खाँदबारी नगरपालिका–९ र भोजपुरको षडानन्द नगरपालिका–६ मा गरी ४१६ रोपनी जग्गा उपलब्ध छ । उक्त जग्गामा भौतिक संरचना निर्माणको काम यसै वर्ष सुरु गर्ने तयारी गरिएको छ । विश्वविद्यालयको काम अघि बढाउन बृहत् गुरुयोजनासमेत निर्माण भइसकेको विश्वविद्यालयका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अर्जुनबहादुर कार्कीले जानकारी दिए ।
नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद, योग, ध्यान, हिमाली चिकित्सा, जडीबुटी तथा वैकल्पिक चिकित्साको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागिएको हो । समाज सुधारक तथा महिला अधिकारकी अग्रणी अभियन्ता योगमाया न्यौपानेको सम्मानमा विश्वविद्यालयको नामकरण गरिएको हो ।
भोजपुरमा जन्मिएकी योगमायाले तत्कालीन राणा शासनका समयमा पनि सामाजिक विभेद, अन्याय, कुरीति र लैङ्गिक असमानताविरुद्ध सशक्त आवाज उठाएकी थिइन् । उनको सामाजिक सुधार अभियान र त्यागलाई राष्ट्रिय रूपमा सम्मान गर्ने उद्देश्य पनि विश्वविद्यालय स्थापनासँग जोडिएको छ ।
विश्वविद्यालय स्थापनाको अवधारणा आर्थिक वर्ष २०७०/७१ देखि अघि बढाइएको थियो । आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रममा पनि विश्वविद्यालय स्थापनाको विषय समावेश गरिएको थियो । विसं २०७९ साउन २८ गते योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ जारी भएपछि यसको स्थापनाले औपचारिक कानुनी आधार प्राप्त गरेको हो ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा छ । सरकारले विश्वविद्यालयका पदाधिकारी नियुक्त गरी काम अघि बढाएको छ ।
नेपालको मौलिक ज्ञान, परम्परागत चिकित्सा प्रणाली र आधुनिक अनुसन्धानलाई एकीकृत गर्ने यो राष्ट्रिय महत्त्वको शैक्षिक संस्था भएको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बताए ।

























