हाजी आँखा अस्पतालको सेयर विवाद : दोब्बर असुल्न खोजिएको अध्यक्षको भनाइ, पूर्वसञ्चालक भन्छन्– रकम पाएकै छैनौँ

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १९:०४

विराटनगर । विराटनगर महानगरपालिका–१४ रानीस्थित साविकको हाजी आँखा अस्पताल (हाल रानी विराटनगर आँखा अस्पताल प्रा.लि.)को सेयर खरिद–बिक्री र भुक्तानी विवाद थप पेचिलो बनेको छ ।

अस्पतालका अध्यक्ष मन्नुकुमार गुप्ताले चार जना पूर्वसञ्चालकलाई सेयरबापतको सम्पूर्ण रकम भुक्तानी गरिसकेको दाबी गरेका छन् । उनले भुक्तानी गरिसकेको बैंक स्टेटमेन्ट प्रस्तुत गर्दै पूर्वसञ्चालकहरूले दोहोरो रकम लिन खोजेको बताए । पूर्वसञ्चालकहरूले भने रकम नपाएको अडान दोहोर्‍याएका छन् ।

सेयर बिक्रीबापत करिब १ करोड ५८ लाख रुपैयाँ नपाएको भन्दै पूर्वसञ्चालकहरूले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरेपछि अस्पताल प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको आरोपलाई निराधार, भ्रामक र तथ्यहीन भनेको छ । अस्पतालले बैंकिङ कारोबार र नगद भुक्तानीको विवरण सार्वजनिक गर्दै चारै जनालाई पाउनुपर्नेभन्दा बढी रकम भुक्तानी गरिसकेको दाबी गरेको छ ।

अस्पतालका अनुसार डा. गुणराज कट्टेललाई पाउनुपर्ने ५७ लाख ८० हजार रुपैयाँमध्ये एक्सेल डेभलपमेन्ट बैंकमार्फत २३ लाख ९० हजार, ग्लोबल आइएमई बैंकमार्फत ११ लाख र विभिन्न मितिमा २२ लाख ९० हजार रुपैयाँ नगद भुक्तानी गरिएको छ । २०८२ मंसिर १२ देखि माघ १५ गतेसम्म उक्त रकम बुझाइएको अध्यक्ष गुप्ताको दाबी छ ।

त्यस्तै, ज्याउल कमरलाई पाउनुपर्ने १९ लाख ६२ हजार ६०७ रुपैयाँमध्ये १० लाख रुपैयाँ एक्सेल डेभलपमेन्ट बैंकमार्फत र बाँकी ९ लाख ६२ हजार ६०७ रुपैयाँ नगद भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

राजेश साहलाई पाउनुपर्ने ३० लाख ६३ हजार ४०० रुपैयाँको सट्टा ३१ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको अस्पतालको दाबी छ । एक्सेल डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई बैंकमार्फत २०८२ साउन १० देखि असोज २१ गतेसम्म गरिएको उक्त भुक्तानी पाउनुपर्ने रकमभन्दा १ लाख १ हजार ६०० रुपैयाँ बढी रहेको अस्पतालले जनाएको छ ।

मो. अतहर अनसारीलाई पाउनुपर्ने ५० लाख ८० हजार १५६ रुपैयाँमध्ये ४५ लाख ७ हजार ४९५ रुपैयाँ उनका पिता कादिर अनसारीको नाममा एक्सेल डेभलपमेन्ट बैंकमार्फत र बाँकी ५ लाख ७२ हजार ६६१ रुपैयाँ नगद बुझाइएको अस्पतालको भनाइ छ ।

अस्पतालले चारै जनालाई भुक्तानी गर्नुपर्ने भन्दा बढी (ब्याजसहित) १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ दिइसकिएको दाबी अध्यक्ष गुप्ताले गरेका छन् । अर्कोतर्फ, पूर्वसञ्चालकहरूले भने अस्पतालले सार्वजनिक गरेको भुक्तानी विवरण अस्वीकार गरेका छन् ।

ज्याउल कमरले आफूले पाउनुपर्ने १९ लाख ६२ हजार ६०७ रुपैयाँ नपाएको दाबी गर्दै गुप्ताले व्यक्तिगत कारोबारलाई अस्पतालको सेयर भुक्तानीसँग जोडेर भ्रम फैलाएको आरोप लगाए । गुप्ताले दिएको भनिएको रकम व्यक्तिगत भएको र त्यसको अस्पतालसँग सम्बन्ध नरहेको उनको भनाइ छ ।

डा. गुणराज कट्टेलले सेयर बिक्री गर्दा १५ प्रतिशत घटाएर ५७ लाख ८० हजार रुपैयाँमा कारोबार भएको बताएका छन् । सेयर बिक्रीपछि अस्पताल सञ्चालनमा समस्या भएको भन्दै आफूले ३७ लाख रुपैयाँभन्दा बढी बैंकमार्फत सहयोग गरेको र करिब १२ लाख रुपैयाँ नगद दिएको उनको दाबी छ । सेयर गुप्ताकै नाममा गइसके पनि बिक्रीबापतको रकम भने नपाएको उनले बताएका छन् ।

मो. अतहर अनसारीले आफ्नो सेयरबापतको रकम पिता कादिर अनसारीलाई दिएको भनेर देखाइएको आरोप लगाएका छन् । अस्पतालमा आफू र बुवा दुवैको सेयर रहेको उल्लेख गर्दै उनले आफूले सेयर बिक्रीबापत एक रुपैयाँ पनि नपाएको दाबी गरे ।

राजेश साहले पनि १५ प्रतिशत कममा सेयर बिक्री गरेबापत पाउनुपर्ने ३० लाख ६३ हजार ४०० रुपैयाँ नपाएको बताएका छन् । गुप्तासँगको व्यक्तिगत र अस्पतालको कारोबार अलगअलग रहेको उनको भनाइ छ । आफूले घर बन्धकी राखेर एनआईसी एसिया बैंकमा धितो राखी ३० लाख रुपैयाँ अस्पतालको नाममा पठाएकोसमेत उनले बताए ।

विवादको अर्को महत्वपूर्ण पक्ष कुमारी बैंकमा राखिएको ग्यारेन्टी चेक र कालोसूचीको प्रक्रिया हो । गुप्ताले सेयर खरिदका क्रममा चारै जना पूर्वसञ्चालकलाई आफ्नो व्यक्तिगत खाताबाट ग्यारेन्टीबापत चेक दिएको स्वीकार गरेका छन् । अध्यक्ष गुप्ताले सम्पूर्ण रकम भुक्तानी भइसक्दा पनि ग्यारेन्टी स्वरूप दिएको चेकलाई आधार बनाएर दोब्बर असुल्ने नियत राखेर दुःख दिइरहेको बताए । कमरलाई १९ लाख ६२ हजार ६०७, डा. कट्टेललाई ५७ लाख ८० हजार, साहलाई ३० लाख ६३ हजार ४०० र अनसारीलाई ५० लाख ८० हजार १५६ रुपैयाँको चेक आफूले दिएको उनले बताए ।

गुप्ताले ती चेकमा उल्लेखित रकम बराबरको रकम बैंकमा जम्मा गरिसकेको भन्दै कालोसूचीसम्बन्धी प्रक्रिया रोक्का गर्न कुमारी बैंक विराटनगर शाखामा निवेदन दिएका छन् । उनले उच्च अदालत विराटनगरमा परेको रिट खारेज भएको भए पनि फैसलाको पूर्णपाठ प्राप्त नभएको उल्लेख गरेका छन् ।

गुप्ताले उच्च अदालतको फैसलाको सम्मान गर्दै २०८३ असोज ६ र ७ गते ग्यारेन्टीबापत १ करोड ६० लाख रुपैयाँ कुमारी बैंकमा जम्मा गरिसकेको दाबी गरेका छन् । बैंकमा रकम जम्मा भइसकेपछि पनि सम्बन्धित व्यक्तिहरूले रकम नबुझेको र अस्पताल तथा आफ्नो व्यक्तिगत चरित्रमा आघात पुर्‍याउने प्रयास गरेको उनको भनाइ छ ।

तर, पूर्वसञ्चालकहरूले भने बैंकमा रकम जम्मा हुँदैमा आफूहरूले सेयरबापतको रकम प्राप्त गरेको प्रमाणित नहुने बताएका छन् । उनीहरूका अनुसार गुप्ताले दिएको चेक साट्न खोज्दा खातामा पर्याप्त रकम थिएन । पटकपटक रकम माग गर्दा पनि भुक्तानी नपाएको उनीहरूको भनाइ छ ।

अनसारीको पक्षमा गत असोज २ गते उच्च अदालत विराटनगरबाट फैसला भएको पूर्वसञ्चालकहरूको दाबी छ । अदालतको आदेशपछि कालोसूचीबाट जोगिन गुप्ताले बैंकमा रकम जम्मा गरेको र बैंकका कर्मचारीले कालोसूचीबाट हटाउन निवेदन फिर्ता लिन लगाएको उनीहरूको आरोप छ ।

यसरी एउटै कारोबारमा अस्पताल अध्यक्षले १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ भुक्तानी गरिसकेको र ग्यारेन्टीबापत १ करोड ६० लाख रुपैयाँ बैंकमा जम्मा गरेको दाबी गरेका छन् । पूर्वसञ्चालकहरूले सेयर बिक्रीको रकम अझै नपाएको बताइरहेका छन् । बैंकमा जम्मा भएको रकम, वास्तविक भुक्तानीको प्राप्तकर्ता, नगद कारोबारको प्रमाणले विवादको वास्तविकता स्पष्ट पार्ने देखिन्छ ।

अस्पताल प्रशासनले संस्थाको छविमा आँच पुर्‍याउने पक्षविरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएको छ । तर, रकम भुक्तानी भएको अस्पतालको दाबी र रकम नपाएको पूर्वसञ्चालकहरूको आरोपबीच बैंकिङ अभिलेख तथा उनीहरुबीच भएको विगतको कारोबारले विवादको निष्कर्ष निर्धारण गर्नेछ ।

हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×