कोशी–मधेश आर्थिक सहकार्यमा जोड

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार २०:०१
कोशी–मधेश आर्थिक सहकार्यमा जोड

विराटनगर । मोरङ उद्योग व्यापार संघले कोशी र मधेश प्रदेशबीच आर्थिक, औद्योगिक, पूर्वाधार तथा पर्यटन क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ ।

संघका अध्यक्ष अनिलकुमार साहको नेतृत्वमा मधेश प्रदेशका प्रदेश प्रमुख तथा अर्थशास्त्री प्रा.डा. सुरेन्द्र लाभसँग भएको अन्तरप्रदेश छलफलमा दुई प्रदेशबीच लगानी, व्यापार विस्तार र स्रोतसाधनको अधिकतम उपयोगका विषयमा छलफल भएको हो । अध्यक्ष साहले विराटनगर–घिनाघाट सडक, कोशी अस्पतालको प्रसूति गृह, क्याम्पस तथा विमानस्थल प्रवेशद्वार निर्माणलगायत मधेशमा बाढी तथा वीरगन्जको विपद्का बेला संघले गरेको सहयोगबारे जानकारी गराए ।

कार्यक्रममा संघका निवर्तमानअध्यक्ष अनुपम राठीले कोशी–मधेश कृषि, उद्योग र पर्यटनका दृष्टिले ठूलो सम्भावना बोकेका प्रदेश भएकाले उत्पादनमुखी नीति ल्याउनुपर्ने बताए । उनले स्वदेशी उद्योग संरक्षण, सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–पैठारी नियन्त्रण तथा भन्सार दर समायोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले विराटनगर–जनकपुर–वीरगन्ज जोड्ने सडक पूर्वाधार स्तरोन्नति गरी द्रुतमार्ग निर्माण गर्नुपर्ने, विराटनगर रेलवेलाई जनकपुरसम्म जोड्नुपर्ने तथा दुवै प्रदेशमा करका दरमा एकरूपता कायम गर्नुपर्ने सुझाव दिए । महासचिव अमितकुमार सारडाले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

मधेश प्रदेशका प्रदेश प्रमुख प्रा.डा. सुरेन्द्र लाभले विराटनगरसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको स्मरण गर्दै उत्पादनशील तथा रोजगारीमूलक क्षेत्रमा युवाको सहभागिता बढाउनुपर्ने बताए । उनले जीर्ण उद्योग पुनः सञ्चालन, औद्योगिक पुनरुत्थान, शिक्षा–स्वास्थ्य सेवा विस्तार तथा कृषि उत्पादनमा प्रशोधन, प्याकेजिङ र ब्रान्डिङमा जोड दिँदै अन्तरप्रदेशीय सहकार्य आवश्यक रहेको बताए । संघको  ७५ औँ वर्ष प्रवेशका अवसरमा प्रदेश प्रमुखले संघलाई शुभकामना दिँदै छलफलबाट प्राप्त सुझाव कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा महिला उद्यमी, युवा व्यवसायीहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×