
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित विपद्को सामना गर्न प्रहरीलाई थप सक्षम बनाउने बताएका छन् । उनले प्रहरीलाई आवश्यक नीतिगत मार्गदर्शन, कानुनी सहजता र आधुनिक तालिमलाई सरकारले प्राथमिकता दिएको पनि उल्लेख गरेका छन् ।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा पठाएको लिखित सन्देशमा प्रधानमन्त्री शाहले अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई विपद् सामना गर्न अझ सक्षम बनाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका हुन्। उनको सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वाचन गरेका थिए ।
प्रधानमन्त्री शाहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको पनि सन्देशमा उल्लेख गरेका छन् ।
वित्तीय तथा साइबर अपराधको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको बताउँदै उनले प्रहरीको समन्वयमा नेपाल राष्ट्र बैंक, इन्टरनेट सेवा प्रदायक संस्था र डिजिटल सेवा प्रदायकहरूलाई एकै ठाउँमा ल्याउने काम भइरहेको जानकारी दिएका छन् ।

























