
जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) बाट मन्त्री भएका चार जनाले राजीनामा दिएका छन् । एमाले संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाज कल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज राजीनामा दिएका हुन् ।
चारै जना मन्त्रीहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनको सरकार छ ।
यता एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनको क्रममा भएको सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।



















