
काठमाडौं । सत्य र तथ्यको पक्षमा कलम चलाउने क्रममा विश्वभर एक हजार ६०० भन्दा बढी पत्रकारले ज्यान गुमाएका छन् । तर, पत्रकार हत्याका अधिकांश घटनामा दोषीले सजाय नपाउँदा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।
पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांकले पत्रकारमाथि हुने हिंसा र त्यसमा कायम दण्डहीनताको भयावह अवस्था उजागर गरेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)का अनुसार सन् २००६ देखि २०२५ सम्म विश्वभर एक हजार ६०० भन्दा बढी पत्रकारको हत्या भएको छ ।
करिब सातमध्ये छ घटनामा अझै न्यायिक निरुपण हुन सकेको छैन । अपराधमा संलग्नलाई कानुनी कारबाही हुन नसक्दा पत्रकारमाथि हुने हिंसाले निरन्तरता पाउने जोखिम बढेको छ ।
पत्रकारमाथि हुने अपराधलाई निरुत्साहित गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन हरेक वर्ष नोभेम्बर २ मा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१३ मा यस दिनलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको थियो ।
यस वर्षको दिवस ‘खतरा बदलिँदै छन्, दण्डहीनता कायमै छ’ भन्ने नारासहित मनाइँदैछ । प्रविधिको विकाससँगै पत्रकारमाथि आक्रमणका स्वरूप पनि बदलिँदै गएको र विशेषगरी द्वन्द्वग्रस्त क्षेत्रमा नयाँ प्रविधि तथा हतियारका कारण पत्रकारको सुरक्षा चुनौती थपिएको विषयलाई यस वर्ष प्राथमिकता दिइएको छ ।
समाचार संकलन तथा सत्यतथ्य सूचना सम्प्रेषणका क्रममा पत्रकारले हत्या, अपहरण, यातना, धम्की र भौतिक आक्रमणजस्ता जोखिम सामना गर्दै आएका छन् । यस्ता अपराधको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाही नहुँदा पत्रकारलाई त्रासमा राख्ने प्रवृत्तिले प्रश्रय पाउने गरेको छ ।
पत्रकारको सुरक्षा प्रेस स्वतन्त्रताको आधारभूत सर्त भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघले पत्रकारमाथि हुने सबै प्रकारका आक्रमणको निष्पक्ष अनुसन्धान गर्न, दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिन सरकारहरूलाई आग्रह गर्दै आएको छ ।
पत्रकारविरुद्धका अपराधमा दण्डहीनता अन्त्य गर्नु मात्रै पत्रकारको सुरक्षाको विषय नभई नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक व्यवस्थाको संरक्षणसँग समेत जोडिएको विषय हो ।

























