भोजपुरको षडानन्द नगरपालिका–६ राम्चेमा रहेको रुद्राक्षको बगान ।विराटनगर । रुद्राक्ष एउटा दाना मात्रै नभएर नेपाली समाजमा आस्था, विश्वास र आध्यात्मिक पहिचानसँग जोडिएको प्राकृतिक उपहार हो ।
विशेषगरी हिन्दु धर्मावलम्बीले भगवान् शिवको प्रतीकका रूपमा रुद्राक्षलाई श्रद्धापूर्वक धारण गर्ने गरेका छन् । शिवभक्तका लागि रुद्राक्षको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष छ ।

रुद्राक्षको दाना रुद्राक्ष नामक रूखमा फल्ने फलको बियाँ हो । यसको बाहिरी सतहमा देखिने धर्सा तथा मुखका आधारमा विभिन्न प्रकारमा वर्गीकरण गरिन्छ । एकमुखीदेखि २९ मुखीसम्मका रुद्राक्ष पाइने धार्मिक मान्यता छ । यसको आकार, बनावट र प्राकृतिक स्वरूपले पनि मानिसलाई आकर्षित गर्छ ।
नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रमा रुद्राक्षका रूख पाइन्छन् । विशेषगरी भोजपुर, संखुवासभालगायत पूर्वी पहाडी जिल्लामा यसको खेती र व्यावसायिक कारोबार हुँदै आएको छ । पछिल्लो समय रुद्राक्ष धार्मिक आस्थासँगै आम्दानीको स्रोतसमेत बनेको छ । स्थानीय किसानका लागि यसको उत्पादन र बिक्री जीविकोपार्जनको माध्यम बनेको छ ।

बजारमा विभिन्न आकार, प्रकार र गुणस्तरका रुद्राक्ष उपलब्ध छन् । यसको वास्तविक मूल्य मुख, आकार, बनावट र गुणस्तरअनुसार फरक पर्छ । धार्मिक विश्वासले जोडिएको रुद्राक्ष प्रकृति, संस्कृति र स्थानीय अर्थतन्त्रको सुन्दर संगमका रूपमा स्थापित हुँदै गएको छ ।







































