
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार (आज) दुईदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जाँदै छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य रहनेछन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गर्ने कार्यक्रम छ। विमानस्थलबाट उनी ताजमहल होटल जानेछन्। त्यहाँ आज साँझ भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नेछन्। दुई नेताबीच प्रतिनिधिमण्डल स्तरीय वार्तासँगै करिब आधा घण्टा एक्ला एक्लै छलफल गर्ने कार्यक्रमसमेत छ।
भेटवार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ। साथै विभिन्न परियोजनाको संयुक्त उद्घाटन, नयाँ परियोजनाको शिलान्यास तथा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्नेछन्। त्यसपछि अपराह्न ४ः५० बजे उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ।

























