
रसुवा । कुनै समय जनैपूर्णिमा र विशेष धार्मिक पर्वमा मात्रै श्रद्धालु तथा पदयात्रीको चहलपहल हुने रसुवाको गोसाइँकुण्ड पछिल्लो समय बाह्रै महिना पर्यटकको रोजाइमा पर्न थालेको छ। सडक पहुँच विस्तार, पदमार्गमा होटेल तथा लजको सुविधा र धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको आकर्षणले चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएको हो।
स्थानीय पर्यटन व्यवसायीका अनुसार सामान्य अवस्थामा दैनिक करिब एक सय पर्यटक गोसाइँकुण्ड क्षेत्रमा पुग्ने गरेका छन्। विगतमा विशेष पर्व र मेलाका बेला मात्रै यात्रुको चहलपहल हुने गरे पनि अहिले जुनसुकै मौसममा पदयात्री आउन थालेका छन्।
काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चेसम्म सवारीसाधनमा पुग्न सकिने र त्यहाँबाट दुई दिनको पैदलयात्रामा गोसाइँकुण्ड पुग्न सकिने भएकाले यात्रा सहज बनेको छ। काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुद्रटार हुँदै जाने वैकल्पिक पदमार्गले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ।
पदमार्गमा खाने बस्ने सुविधा विस्तार भएसँगै पर्यटकको आगमन बढेको खेन्दीकी होटेल व्यवसायी सृजना घले बताउँछिन्। उनका अनुसार पहिले विशेष मेलापर्वमा मात्रै पर्यटकको चहलपहल हुने गरेकामा अहिले वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।
धुन्चेका होटेल व्यवसायी विशाल घलेका अनुसार सामान्य अवस्थामा दैनिक करिब एक सय पर्यटक यस क्षेत्रमा आउने गरेका छन्। गत भदौ १० गतेको बाढीले बाटो तथा भौतिक संरचनामा क्षति पुर्याएपछि केही समय पर्यटन गतिविधि प्रभावित भए पनि अहिले व्यवसाय पुरानै लयमा फर्किन थालेको छ। मिनी गोसाइँकुण्डकी होटेल व्यवसायी सीता देवकोटाले पनि पर्यटकको आगमन क्रमशः सामान्य बन्दै गएको बताइन्। यात्राका क्रममा धैबुङको दहीचिउरा, धुन्चेको बसाइ र चन्दनबारीको प्राकृतिक सौन्दर्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको उनको भनाइ छ।
धार्मिक आस्था र पौराणिक विश्वास
गोसाइँकुण्ड केवल पदयात्राको गन्तव्य मात्र नभई हिन्दु धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थलसमेत हो। धार्मिक मान्यताअनुसार संसारभरका देवीदेवता गोसाइँकुण्डमा बास बस्ने भएकाले यहाँ स्नान गर्दा सम्पूर्ण देवीदेवताको दर्शन हुने विश्वास छ।
पौराणिक कथनअनुसार समुद्रमन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि भएको जलन शान्त पार्न भगवान् शिवले त्रिशूलले जमिनमा प्रहार गरी निस्किएको जल पिएका थिए। त्यही जलबाट कुण्ड बनेको र भगवान् शिव त्यहीँ शयन गरेको धार्मिक विश्वास रहिआएको छ।
कुण्डमा स्नान तथा पूजाआराधना गर्दा रोगव्याधि हट्ने र परिवारमा सुखशान्ति प्राप्त हुने विश्वासका साथ श्रद्धालुहरू नीलाद्री पर्वत पुग्ने गरेको स्थानीय समाजसेवी दावाफिन्जो तामाङ बताउँछन्। यहाँ पुगेर शिवको आराधना गर्ने र वरदान माग्ने परम्परा पनि प्रचलित छ।
गोसाइँकुण्डको ऐतिहासिक महत्त्व पनि उत्तिकै छ। नेपाल–अङ्ग्रेज युद्धपछि भएको सुगौली सन्धिबाट नेपालको हित नभएको पीडामा राष्ट्रिय विभूति अमरसिंह थापाले गोसाइँस्थानमा देहत्याग गरेको इतिहास रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल बताउँछन्। उनका अनुसार थापाले कुण्डको दक्षिणतर्फको भिरमा रहेको गुफामा अन्तिम समय बिताएका थिए।
बर्सेनि १० हजारभन्दा बढीको आवागमन
गोसाइँकुण्ड क्षेत्रमा प्रत्येक वर्ष १० हजारभन्दा बढी भक्तजन तथा पदयात्री पुग्ने गरेका छन्। धार्मिक परम्पराअनुसार यात्रा सुरु गर्नुअघि घरका कुलदेवताको बिदा माग्ने, वेत्रावती नदीमा केश मुण्डन तथा गङ्गापूजा गर्ने चलन छ। त्यसपछि ‘ॐ नमः शिवाय’ जप्दै सुलाद्री पर्वत (लौरीविनायक)आरोहण गरी लौरी चढाउने परम्परा कायम छ।
यद्यपि, उच्च हिमाली क्षेत्र भएकाले गोसाइँकुण्ड यात्रामा स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिनुपर्ने हुन्छ। लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा वनस्पति नपाइने र अक्सिजनको मात्रा कम हुने भएकाले लेक लाग्ने जोखिम रहन्छ।
स्थानीयवासीले यात्राका क्रममा पर्याप्त पानी पिउन, आवश्यक औषधि साथमा राख्न र स्वास्थ्य अवस्थाअनुसार चिकित्सकको परामर्श लिन सुझाव दिने गरेका छन्। उच्च उचाइमा देखिन सक्ने स्वास्थ्य समस्याप्रति सचेत रहँदै यात्रा गर्नुपर्ने उनीहरूको भनाइ छ।
धार्मिक आस्था, पौराणिक महत्त्व, ऐतिहासिक विरासत र अनुपम प्राकृतिक सौन्दर्यको संगम बनेको गोसाइँकुण्ड पछिल्लो समय नेपालको महत्त्वपूर्ण पदयात्रा तथा पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

























