दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलको प्रतियोगिता स्थल सार्वजनिक

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार ०७:४१

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेल कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितामा समावेश खेलहरूको स्थल सार्वजनिक गर्दै अधिकांश खेल सुर्खेतमा आयोजना गर्ने जनाएको छ।

आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका ३२ खेलमध्ये २२ खेल सुर्खेतमा हुनेछन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले सार्वजनिक गरेको विवरणअनुसार सुर्खेतमा एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल र कबड्डीलगायत खेल सञ्चालन हुनेछन्।

त्यस्तै, कराँते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराँते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र इस्पोर्ट्स पनि सुर्खेतकै विभिन्न स्थानमा आयोजना गरिनेछ।

अन्य जिल्लातर्फ बाँके र बर्दियामा दुई–दुई खेल सञ्चालन हुनेछन्। टेनिस तथा महिला र पुरुष खो–खो बर्दियामा आयोजना हुनेछन् भने पौडी र सुटिङ नेपालगञ्जमा हुनेछ। सल्यानमा जुडो र कुस्ती, दैलेखमा आईटीएफ तेक्वान्दो, जुम्लामा महिला तथा पुरुष फुटबलको सेमिफाइनल र फाइनल तथा कालीकोटमा बुद्धिचाल प्रतियोगिता सञ्चालन हुनेछ। शारीरिक सुगठन पश्चिम रुकुममा आयोजना गरिनेछ।

परिषद्का अनुसार प्रतियोगिताका केही खेल मंसिर ८ गतेदेखि नै सुरु हुनेछन्। यद्यपि, प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते गरिनेछ।

प्रतियोगितामा करिब ६ हजार खेलाडी र तीन हजार अफिसियलसहित नौ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनका अनुसार प्रतियोगितालाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्न आयोजक मूल समारोह समितिसहित १४ वटा विभिन्न समिति गठन गरी तयारी अघि बढाइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.