
काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्समा नेपालले आइतबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीमा हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा पराजय बेहोरेका दुवै टोली आज प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । युएई पाकिस्तान ‘ए’सँग ६१ रनले पराजित भएको थियो भने नेपाल भारत ‘ए’सँग ३०६ रनको फराकिलो अन्तरले हारेको थियो ।
भारत ‘ए’विरुद्ध सुरुवाती ओभरमा राम्रो प्रदर्शन गरेको नेपालले त्यसलाई निरन्तरता दिन सकेन । १०.३ ओभरमा ४२ रन जोड्दा भारतको तीन विकेट लिएको नेपाल त्यसपछि कप्तान तिलक वर्मा र कुमार कुशाग्रको साझेदारी रोक्न असफल भएको थियो ।
३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमै २६ रनमा समेटिएको थियो । नेपाली ब्याटिङ लाइनअप भारतका तीव्र गतिका बलर हर्षित राना र प्रिन्स यादवसामु टिक्न सकेन । पाँच ब्याटरले खाता खोल्न सकेनन् भने कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतसँगको निराशाजनक हार बिर्सेर नेपाल आज पुनरागमनको प्रयासमा हुनेछ । पछिल्ला पाँच एकदिवसीय खेलमध्ये नेपालले एक खेलमा मात्रै हार बेहोरेको छ । त्यही लयलाई राइजिङ स्टार्समा फर्काउने नेपालको लक्ष्य हुनेछ ।
युएईविरुद्धको पछिल्लो तीन एकदिवसीय भेटमा नेपाल अपराजित छ । समग्रमा दुई टोलीबीच भएका पछिल्ला २० खेलमा नेपालले १२ जित हात पारेको छ भने युएईले आठ खेल जितेको छ । आजको खेल जित्दै नेपाल युएईमाथिको आफ्नो वर्चस्व कायम राख्न चाहन्छ ।

























