विराटनगरको एक दशकको विकास यात्रा समेटिएको पुस्तक सार्वजनिक

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार ०६:३४

विराटनगर । संघीयता कार्यान्वयनपछि विराटनगर महानगरपालिकाले हासिल गरेका उपलब्धि, विकासका प्रयास र स्थानीय सरकार सञ्चालनका अनुभव समेटिएको पुस्तक सार्वजनिक गरिएको छ।

विराटनगर महानगरपालिका–११ ले प्रकाशन गरेको ‘महानगरका दश वर्ष: अनुभव र उपलब्धि’ नामक पुस्तक एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपाली, कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादव, महानगरपालिकाकी पूर्व उपप्रमुख इन्दिरा कार्की, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह र अर्थशास्त्री डा. भेषप्रसाद धमलालगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरे।

पुस्तकमा संघीयतापछि विराटनगर महानगरपालिकाको विकासक्रम, स्थानीय सरकारको भूमिका, नेतृत्वको योगदान, १९ वटै वडाको अवस्था, विकासका प्रयास, उपलब्धि र चुनौतीलाई समेटिएको छ। साथै, संघीयतापछिका महानगर प्रमुख तथा उपप्रमुखसँगका अन्तर्वार्ता र महानगरको स्थापनाकालदेखि हालसम्मको नेतृत्व तथा योगदानको समीक्षासमेत समावेश गरिएको छ।

पुस्तक सार्वजनिक गर्दै महानगर प्रमुख कोइरालाले यसलाई विराटनगरको इतिहास, विकासक्रम र स्थानीय शासन प्रणाली बुझ्न महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा लिनुपर्ने बताए। पुस्तकले वर्तमान पुस्तालाई महानगरको विकासबारे जानकारी दिनुका साथै भावी पुस्ताका लागि पनि ऐतिहासिक दस्ताबेजको काम गर्ने उनको भनाइ थियो।

उपप्रमुख कार्कीले महानगरको एक दशकको अनुभव र उपलब्धिलाई अभिलेखीकरण गर्ने प्रयास महत्त्वपूर्ण रहेको बताइन्। विगतका अभ्यास र अनुभवको अध्ययनले आगामी दिनमा योजना निर्माण, नीतिगत सुधार तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनले उल्लेख गरिन्।

पुस्तक प्रकाशन समितिका संयोजक एवं वडा नं. ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले महानगरको कार्यपालिकाबाट पुस्तक प्रकाशन गर्ने वडाको योजनाले स्वीकृति पाएकोमा आभार व्यक्त गरे। उनले पछिल्लो एक दशकमा महानगरले गरेका काम, उपलब्धि र चुनौतीलाई समेटेर दस्तावेज तयार पारिएको जानकारी दिए।

पुस्तकका सम्पादक तथा वरिष्ठ पत्रकार यज्ञ शर्माले स्थानीय सरकारको अभ्यास र विकासका अनुभव समेटिएको पुस्तक जनप्रतिनिधि, नीतिनिर्माता, अनुसन्धानकर्ता तथा आम नागरिकका लागि उपयोगी हुने बताए। यस्ता दस्ताबेजले भविष्यमा नीति निर्माण र विकासका प्राथमिकता निर्धारण गर्नसमेत सघाउने उनको भनाइ थियो।

कार्यक्रममा राष्ट्रियसभा सदस्य खेम नेपाली, संविधानसभा सदस्य जयराम यादव, पूर्व उपप्रमुख इन्दिरा कार्की, महानगरका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष सन्तोष न्यौपाने, वडा नं. १ का अध्यक्ष काजीबहादुर बस्नेत, उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पुस्तकको महत्वबारे चर्चा गरेका थिए।

सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले महानगरको विकास र स्थानीय शासनका अनुभवलाई अभिलेखीकरण गर्नु भावी पुस्ताका लागि महत्त्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो । विराटनगर महानगरपालिका–११ ले यसअघि पनि ‘वडा परिचय’ नामक पुस्तक प्रकाशन गरिसकेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.