
काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी स्काइवेलले नेपालका लागि आफ्नो आधिकारिक आयातकर्ता तथा वितरक जी मोटर्स प्रालिसँगको व्यावसायिक सम्बन्ध अन्त्य गरेको छ । कम्पनीले जारी गरेको आधिकारिक सूचनाअनुसार उक्त निर्णय २०२६ जुन ५ देखि लागू भइसकेको छ ।
जी मोटर्स प्रालिका सञ्चालक कैलासबाबु गेलाल हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारसमणि गेलालका भाइ हुन् । जी मोटर्समार्फत स्काइवेल ब्रान्डका विद्युतीय गाडी नेपाली बजारमा बिक्री हुँदै आएका थिए । सांसद गेलाल स्वयं पनि उक्त ब्रान्डको व्यवसायसँग जोडिएका थिए । उनीमाथि गाडी बिक्री गरे पनि समयमै पास नगरिदिने र अनेक हिसाबले क्रेतासँग बार्गेनिङ गर्ने गरेको आरोप लाग्दै आएको थियो ।
स्काइवेलको अन्तर्राष्ट्रिय बजार विभागले नेपाल सरकारअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र पठाउँदै जी मोटर्स अब स्काइवेल तथा स्काइवर्थ ब्रान्डका सवारीसाधनको आधिकारिक आयातकर्ता र वितरक नरहेको जानकारी गराएको छ । यससँगै कम्पनी र जी मोटर्सबीचको सहकार्य औपचारिक रूपमा समाप्त भएको हो ।
जी मोटर्सले सन् २०२४ देखि स्काइवेल ब्रान्डलाई नेपाली बजारमा प्रवेश गराएको थियो । कम्पनीले सुरुआती चरणमा स्काइवेल ईटी–५ मोडल सार्वजनिक गरेको थियो । लामो दूरीसम्म चल्न सक्ने क्षमता तथा प्रिमियम सुविधाका कारण उक्त मोडलले नेपाली बजारमा उल्लेखनीय चर्चा पाएको थियो ।
हाल नेपाली बजारमा स्काइवेलका बीई–११ र ईटी–५ मोडल उपलब्ध छन् । कम्पनीका अनुसार यी गाडीहरू ४१० किलोमिटरदेखि ६२० किलोमिटरसम्मको रेन्जमा उपलब्ध छन् ।
जी मोटर्सले काठमाडौं, विराटनगर, इटहरी, चितवन र पोखरालगायत विभिन्न सहरमा बिक्री केन्द्र सञ्चालन गर्दै आएको थियो । त्यस्तै भक्तपुरको राधेराधे र इटहरीमा सेवा केन्द्रसमेत सञ्चालनमा रहेका छन् । डिलर सम्झौता समाप्त भएसँगै ती केन्द्रहरूको भावी व्यवस्थापन र ग्राहक सेवाको निरन्तरताका बारेमा भने स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन ।
स्काइवेलले नेपालमा आफ्नो नयाँ आधिकारिक आयातकर्ता तथा वितरक को हुनेछ भन्ने विषयमा हालसम्म कुनै औपचारिक घोषणा गरेको छैन । नयाँ साझेदार चयनका बारेमा कम्पनीले कुनै विवरण सार्वजनिक नगरेकाले अब नेपाली बजारमा स्काइवेल ब्रान्डको प्रतिनिधित्व कसले गर्ने भन्ने विषय चासोको केन्द्र बनेको छ ।
जी मोटर्ससँगको सहकार्य अन्त्य भएपछि नेपालमा स्काइवेलको व्यवसायिक संरचना पुनः व्यवस्थित हुने संकेत देखिएको छ । कम्पनीले नयाँ साझेदार छनोट गरेपछि मात्रै आगामी रणनीति र बजार विस्तारसम्बन्धी योजना स्पष्ट हुनेछ ।

























