
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड रुपैयाँ घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।
चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो ।
महानगरले बजेटको सबैभन्दा ठूलो हिस्सा पूर्वाधार विकासमा विनियोजन गरेको छ । पूर्वाधारतर्फ १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ छुट्याइएको छ, जसमध्ये वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख र नगरस्तरीय योजनाका लागि ६० करोड खर्च गरिनेछ। यस्तै, प्रशासनिक खर्च र कार्यालय सञ्चालनका लागि ७६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ २६ करोड ५० लाख बजेट छुट्याइएको छ, जसमा शिक्षामा १० करोड ९ लाख र स्वास्थ्यमा ७ करोड ३ लाख रुपैयाँ रहेको छ । आर्थिक विकासका लागि ३ करोड २६ लाख, सुशासनका लागि २ करोड ९३ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ आन्तरिक आयबाट संकलन गर्ने लक्ष्य राखेको छ । तर, यो लक्ष्यलाई कर्मचारी र सरोकारवालाहरूले ‘हावादारी’ भनेका छन् । चालु आर्थिक वर्षमा पनि सोही बराबरको लक्ष्य राखिएको थियाे । तर, जेठ मसान्तसम्म ४४ करोड ८५ लाख रुपैयाँ मात्रै संकलन भएको छ । असारभित्र लक्ष्य भेट्ने कुनै सम्भावना नभए पनि महानगरले पुनः पुरानै महत्वाकांक्षी अंकलाई आन्तरिक आयको स्रोत मानेको हाे ।
बजेटका अन्य स्रोतहरूमा संघीय सरकारबाट १ अर्ब ७ करोड २८ लाख र प्रदेश सरकारबाट १४ करोड २६ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, राजस्व बाँडफाँडबाट ९२ करोड ५६ लाख र बैंक मौज्दातबाट १४ करोड रुपैयाँ खर्च ब्यहोरिने महानगरले जनाएको छ।

























