बलियो कांग्रेससहित अगाडि आउने छौंः शर्मा  

Share this
806shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १८:१८
बलियो कांग्रेससहित अगाडि आउने छौंः शर्मा  

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताएका छन् । महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने उनले बताए ।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक संकटमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।  जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताए । राष्ट्रिय हितका महत्त्वपूर्ण विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनु पर्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेन–जी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि शर्माले जोड दिए । देशभित्र र देश बाहिर रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनु पर्ने भन्दै उनले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए ।

‘नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नु पर्छ,’ शर्माले भने, ‘विदेशमा रहेका नेपालीले नेपालको विकासमा लगानी गर्न चाहेका छन् । उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ ।’

नयाँ सरकार गठन भए पनि सामाजिक सञ्जालमा एकअर्काप्रति आक्रोश बढिरहेको उल्लेख गर्दै शर्माले अहिले नेपाली समाजमा संवाद, सद्भाव र एकताको आवश्यकता रहेको बताए । भूगोललाई मात्रै होइन, नेपालीको मनलाई पनि जोड्नु पर्ने उनको भनाइ छ ।

विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेन–जी पुस्तासम्मको सहभागिता रहेको बताए । करिब ३५ हजार प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको भन्दै उनले यसलाई कांग्रेसको नयाँ ऊर्जाका रूपमा व्याख्या गरे ।

‘यो यात्राको सुरुवात हो। महाधिवेशनपछि बलियो कांग्रेससहित अगाडि आउने छौं,’ शर्माले भने । परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने उनले बताए । महाधिवेशनले कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो बनाउँदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने शर्माको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×