कांग्रेसमा निरन्तरताको क्रमभंग गर्नुभयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्: प्रचण्ड

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १८:३३
कांग्रेसमा निरन्तरताको क्रमभंग गर्नुभयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको बताएका छन् ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गगन थापालाई बधाई दिँदै उनको नेतृत्व गर्ने क्षमता आफूले यसअघि नै देखेको बताए । उनले आफूले प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै थापाको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए ।

‘गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ । अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ। आज त्यही देखिरहेको छु,’ प्रचण्डले भने । विषम राजनीतिक परिस्थितिबीच थापा कांग्रेसको नेतृत्वमा आउनु आफैँमा ‘क्रमभंग’ भएको उनको भनाइ छ । ‘यो क्रमभंग हो । निरन्तरतामा क्रमभंग गरेर तपाईं पार्टीको नेतृत्वमा आउनु भएको छ,’ उनले भने ।

प्रचण्डले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेत जोडेर अघि बढ्न थापालाई आग्रह गरे । पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनु पर्ने भन्दै उनले कांग्रेसको नयाँ नेतृत्वले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने बताए ।

थापा अब पार्टीको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नु पर्ने प्रचण्डले बताए। त्यसका लागि आफ्नो साथ र सहयोग रहने उनको भनाइ छ । ‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नु होला, हामी साथ दिन तयार छौँ,’ प्रचण्डले भने । उनले मुलुकमा गणतन्त्र र लोकतन्त्र समेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए ।

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नु पर्ने बताउँदै प्रचण्डले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×