
विराटनगर । विराटनगर महानगरपालिका–५ कलरुवास्थित धान खेतमा नीलगाई मृत फेला परेको छ । स्थानीयले आइतबार दिउँसो मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आइतबार दिउँसो करिब ४ः३० बजेतिर नीलगाई मृत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो । त्यसलगत्तै सीआरभी बरगाछीबाट असई शिषकुमार दनुवार नेतृत्वको टोली घटनास्थल पुगेर वन कार्यालयलाई खबर गरेको थियो ।
मृत नीलगाईबाट दुर्गन्ध आउन थालिसकेको प्रहरीको भनाइ छ । वन कार्यालयको प्राविधिक र वन्यजन्तु विज्ञसहितको टोलीले घटनास्थलको मुचुल्का उठाएपछि खाल्डो खनेर घटनास्थलनजिकै नीलगाईलाई गाडिएको छ । नीलगाई कहिले मरेको हो भन्ने यकिन हुन सकेको छैन । स्थानीयले भने शनिबार राति नै मरेको हुन सक्ने आशंका गरेका छन् ।
नीलगाई आफैं मरेको वा कसैले मारेको हो भन्ने यकिन छैन । घटनाको थप अनुसन्धान भइरहेको छ । नीलगाई एसियाकै सबैभन्दा ठूलो मृग प्रजातिको र शाकाहारी वन्यजन्तु हो । घाँस, पात र झारपात यसको मुख्य आहारा हुन् ।
नेपालमा नीलगाई तराईका विभिन्न संरक्षित क्षेत्रमा पाइन्छ । कोशी टप्पु वन्यजन्तु आरक्ष पनि यसको प्रमुख बासस्थानमध्ये एक हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अध्ययनअनुसार नेपालमा यसको संरक्षण अवस्था जोखिमपूर्ण मानिएको छ ।
विराटनगरको बस्तीनजिकै नीलगाई मृत भेटिनुको कारण भने खुलेको छैन । थप कुरा अनुसन्धानपछि पत्ता लाग्ने वन कार्यालयले जनाएको छ ।

























