समृद्ध नेपाल निर्माणमा निजी क्षेत्रको अग्रणी भूमिका आवश्यक : राष्ट्रपति पौडेल

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १२:२७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नहुने बताएका छन् । उनले राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यसँगको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा रहेको बताए । उनले नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै महासंघका पदाधिकारी तथा सदस्यको निरन्तर सफलता र प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए । महासंघको सांगठनिक विस्तार र त्यसमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र देशको प्रगतिसँग जोडिएको उनको भनाइ छ । आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए । निजी क्षेत्रले पनि लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रपति पौडेलले यी दुई पक्षबीचको विश्वास र सहकार्यले नै आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्न सक्ने बताए । उनले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताए । जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्नुपर्नेमा उनले जोड दिए । विशेषगरी युवा जनशक्तिका लागि स्वदेशमै अवसर र उद्यमका सम्भावना सिर्जना गर्नु साझा दायित्व भएको उनले बताए ।

डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासंघले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पुर्‍याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गरे । नेपालले हालै ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै उनले विपद्का बेला उद्धार तथा राहतका लागि महासंघले देखाएको तत्परता, सहयोग र सहकार्यको प्रशंसा गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×