पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १३:२१

काठमाडौं । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारगृहभित्रै प्रहरी प्रवेश गरेर धरपकड गर्ने घटनाप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसले सरकारमाथि संसदीय दबाब बढाउने भएको छ ।

कांग्रेसले संघीय संसद्को अधिवेशन तत्काल बोलाउन तथा पत्रकार धरपकडसहित पछिल्ला विवादित सरकारी गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । कांग्रेसले पत्रकारमाथिको प्रहरी कारबाहीलाई प्रेस स्वतन्त्रता र विधिको शासनमाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेको छ । पार्टीले यस विषयमा अन्य विपक्षी दलहरूसँग समेत सहकार्य गरेर सरकारलाई जवाफदेही बनाउन पहल गर्ने जनाएको छ ।

कांग्रेस सांसद कृष्णबहादुर रोकायाका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमले संसद् अधिवेशनको आवश्यकता झन् बढाएको छ । न्यायपालिकाभित्र देखिएका विवाद, प्रहरी नेतृत्वसँग जोडिएका प्रश्न र पत्रकारमाथिको धरपकडजस्ता विषय संसद्मा छलफल हुनुपर्ने उनको भनाइ छ ।

‘पछिल्लो राजनीतिक घटनाक्रमले संसद् अधिवेशन जतिसक्दो आवश्यक रहेको महसुस भएको छ । पत्रकार धरपकडदेखि न्यायालयभित्रको अवस्था र प्रहरीको विषय आएको छ,’ रोकायाले भने ।

संसद् अधिवेशन बोलाउने विषयमा विपक्षी दलहरूसँग छलफल गरेर अघि बढ्ने कांग्रेसको तयारी छ । यसका लागि विपक्षी दलहरूको बैठकसमेत बोलाइएको रोकायाले जानकारी दिए ।

यसैबीच, कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड र त्यससँग जोडिएका सरकारी गतिविधिको स्वतन्त्र छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि नेता भीष्मराज आङ्देम्बेले समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्नुले स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब सिर्जना गरेको बताए ।

पक्राउका लागि आवश्यक कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी गरिएको प्रहरी कारबाही विधिको शासनविपरीत भएको उनको टिप्पणी छ । ‘पत्रकार धरपकड लगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ । यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ,’ आङ्देम्बेले भने ।

कांग्रेसले पछिल्लो घटनाक्रमलाई पत्रकार पक्राउमा मात्र सीमित विषयका रूपमा नलिई नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र शक्ति पृथकीकरणसँग जोडिएको गम्भीर प्रश्नका रूपमा उठाएको छ । सरकारका सही काममा समर्थन गर्ने तर लोकतन्त्र र विधिको शासनका आधारभूत मूल्यविपरीतका गतिविधिको विरोध गर्ने आङ्देम्बेको भनाइ छ ।

उनले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्नेमा जोड दिँदै सरकारका गतिविधिबारे जवाफदेहिता आवश्यक रहेको बताए । सरकारी निकायले जे गरे पनि जवाफ दिनु नपर्ने मानसिकता देखिनु लोकतान्त्रिक व्यवस्थाका लागि चिन्ताजनक भएको उनको टिप्पणी थियो ।

कांग्रेसले पछिल्ला घटनालाई संवैधानिक संरचना कमजोर बनाउने र आफूअनुकूल शासन स्थापित गर्ने सुनियोजित प्रयासको शृंखलाका रूपमा समेत व्याख्या गरेको छ ।

पछिल्लो विवाद सर्वोच्च अदालतका न्यायाधीश र बिचौलियाबीचको भनिएको भेटघाट, पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएका भनिएका इनम सापकोटाको मोबाइल विवरण तथा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नेतृत्व परिवर्तन हुन लागेको भन्ने समाचारसँग जोडिएको छ ।

विभिन्न विषयमा समाचार प्रकाशित भएपछि स्रोतको खोजी गर्ने क्रममा प्रहरीले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरेको थियो । नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनए खबरका धिरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराल पक्राउ परेका थिए । नयाँ पत्रिकाका नवराज मैनालीसहित अन्य पत्रकारको खोजी र मोबाइल जाँचसमेत गरिएको थियो ।

घटनाको चौतर्फी विरोध भएपछि पक्राउ परेका पत्रकारहरू सोही दिन साँझ रिहा भएका थिए । प्रहरीले भने प्रधानमन्त्री कार्यालयको चासोपछि पत्रकारहरूसँग सोधपुछ गरिएको जनाएको थियो ।

पत्रकार पक्राउको विरोधमा नेपाल पत्रकार महासंघको अगुवाइमा माइतीघर मण्डलामा प्रदर्शन भएको थियो । प्रेस काउन्सिल नेपालले पनि कानुनी प्रक्रिया पूरा नगरी पत्रकारमाथि गरिएको धरपकडप्रति आपत्ति जनाएको थियो । कांग्रेसले घटनाकै दिन प्रहरीको कदमको विरोध गरेको थियो ।

संघीय संसद्को अघिल्लो अधिवेशन २०८३ असोज १६ गते अन्त्य भएको थियो । पछिल्ला घटनाक्रमबारे संसद्मा छलफल गराउन र सरकारलाई जवाफदेही बनाउन अधिवेशन तत्काल आह्वान गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ ।

तपाइको प्रतिक्रिया
डा. केसीको अनशन र सरकारको जवाफदेहिता
विराटनगर जेसिजद्वारा दुई जना सम्मानित
पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै खापुङ, प्रदेश प्रमुखको भूमिकामा बने उदाहरण
संसद् नखुले सरकारका गतिविधिमाथि प्रश्न उठाउने ठाउँ साँघुरिने विपक्षीको ठहर
बिचौलिया प्रकरणमा कांग्रेसको आपत्ति
महाभियोगमा रास्वपा अलमल
झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह
पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग
रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.