विराटनगर जेसिजद्वारा दुई जना सम्मानित

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १५:४६

विराटनगर । विराटनगर जेसीजले स्वास्थ्य र उद्योग क्षेत्रमा योगदान पुर्‍याएका दुई व्यक्तित्वलाई सम्मान गरेको छ । जेसीजले विराट नर्सिङ होमका प्रमुख कार्यकारी निर्देशक डा. निकिता कार्की र युवा उद्योगी रञ्जित भगतलाई सम्मान गरेको हो ।

विराटनगरमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै डा. कार्की र उद्योग व्यवसायमार्फत युवा उद्यमशीलता प्रवर्द्धनमा सक्रिय भगतलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको विराटनगर जेसीजले जनाएको छ ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की, पूर्वराष्ट्रिय अध्यक्ष फूलकुमार लालवानी, पूर्वसांसद योगेन्द्रप्रसाद मण्डल र विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले दुवैलाई सम्मान गरेका थिए ।

सम्मानपछि डा. कार्कीले यसलाई आफू कार्यरत विराट नर्सिङ होम र विराट अस्पतालका चिकित्सक तथा कर्मचारीको सामूहिक योगदानको प्रतिफलका रूपमा लिएको बताए । उनले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि संस्थामा आबद्ध चिकित्सक र स्वास्थ्यकर्मीको मेहनतको कदर भएको उल्लेख गरे ।

त्यस्तै, भगतले आफूसँगै समाजमा काम गरेका व्यक्तिहरूले उत्कृष्ट युवा व्यवसायीका रूपमा सम्मान गरेकोमा आभार व्यक्त गरे । सम्मानबाट आफू भावुकसमेत भएको उनले बताए ।

कार्यक्रममा उत्कृष्ट कार्यक्रम संयोजन गरेबापत मनोज तिवारीलाई ‘निमा अवार्ड’ प्रदान गरिएको थियो । वक्तृत्वकला प्रतियोगिताका विजेता सिद्धार्थ साह र गुनानन्द महतोलाई पनि पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की, पूर्वराष्ट्रिय अध्यक्ष फूलकुमार लालवानी, पूर्वसांसद योगेन्द्रप्रसाद मण्डल, राष्ट्रिय उपाध्यक्ष अनिश भट्टराई, विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाल, पूर्वअध्यक्ष क्लबका अध्यक्ष कैलाश खाकी श्रेष्ठ, पूर्वअध्यक्ष मिलन पौडेल र सेवक बजगाईंले जेसीज अभियान तथा सामाजिक क्षेत्रमा युवाको भूमिकाबारे धारणा राखेका थिए ।

जेसीज सप्ताहका मुख्य संयोजकसमेत रहेका विराटनगर जेसीजका वरिष्ठ उपाध्यक्ष रञ्जनकुमार शाहीले सप्ताहअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न कार्यक्रमका संयोजकहरूले आ–आफ्नो कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सम्मान तथा पुरस्कार वितरणले स्वास्थ्य, उद्योग, युवा नेतृत्व र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको योगदानलाई प्रोत्साहन गर्ने विश्वास विराटनगर जेसीजले व्यक्त गरेको जनसम्पर्क अधिकारी जेसी आकृति रानी फुयलले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.