नेपाली फुटबलको निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्योः मन्त्री पोखरेल

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १३:५३

विराटनगर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन्। फिफा र एसियाली फुटबल महासंघ (एएफसी) नेपाली फुटबलको निलम्बन फुकुवा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को तहगत निर्वाचन गराउन सकारात्मक भएको उनले जानकारी दिएका छन्।

थाइल्यान्डमा फिफा र एएफसीका उच्च पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको बताए। उनका अनुसार एन्फाको तहगत निर्वाचन कुन प्रक्रिया र मोडालिटीमा गर्ने भन्ने विषयमा फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउने छ।

मन्त्री पोखरेलले निलम्बन फुकुवा र तहगत निर्वाचनको प्रक्रिया फिफाले नै अघि बढाउने जानकारी दिँदै निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम समिति गठन गरेर गर्ने भन्ने विषयमा भने सहमति हुन बाँकी रहेको बताए। निर्वाचनको मोडालिटी, समय र प्रक्रियाबारे थप छलफल हुने उनको भनाइ छ।

यसअघि फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई ‘थर्ड पार्टी इन्टरफेरेन्स’का रूपमा बुझेको भए पनि नेपालको कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि सकारात्मक बनेको मन्त्री पोखरेलले बताए। सरकारले नेपालको कानुनअनुसार आफ्नो जिम्मेवारी पूरा गर्ने तर फुटबलको आन्तरिक व्यवस्थापनमा अनावश्यक हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.