
काठमाडौं । पश्चिमी वायु र भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आइबार (आज) कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका अन्य भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो कोशी र मधेश प्रदेशसहित बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशीको तराई भू–भाग र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति देशका हिमाली क्षेत्रका साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा भोलि बिहानपख पनि केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

























