शोक बिसाएर उत्साह थप्ने ‘वडाङ्मेट’ सुरु, सहिदभूमिमा ‘पापानी’ को रौनक

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार ०८:१४

धनकुटा । वर्षभरि आफन्त गुमाउँदाको शोक र पीडालाई धार्मिक विधिमार्फत बिसाएर जीवनमा नयाँ उमंग थप्ने आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड ‘वडाङ्मेट’ (मंसिरे) सुरु भएसँगै धनकुटामा सांस्कृतिक रौनक छाएको छ । यही मेसोमा सहिदभूमि गाउँपालिकाका राई समुदायमा नयाँ बाली भित्र्याएको खुसीयालीमा मनाइने ‘वाढाङ्मी’ (पापानी) पर्वको तयारीसमेत पूरा भएको छ ।

आपसी सद्भाव, एकता र मौलिक पहिचान बोकेको वडाङ्मेट पर्वका अवसरमा वर्षभरि आमाबुबा वा परिवारका सदस्य गुमाएका आठपहरिया समुदायका सदस्यहरू शोक र जुठोबाट मुक्त हुन शनिबारदेखि चारदिने पैदल यात्रामा निस्किएका छन् ।

यात्राको पहिलो दिन धनकुटाको आहालेमा बास बसेका यात्रीहरू दोस्रो दिन आइतबार सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोला पुगेर कपाल–दाह्री खौरिने, स्नान गरी दुःख बगाउने र बराह भगवानको दर्शन गरी त्यहीँ बास बस्ने आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिए । उनका अनुसार धार्मिक विधि पूरा गरी देवता घर ल्याउने परम्परा छ । सोमबार फर्कने क्रममा धनकुटा नगरपालिकाको बगुवा खोलामा बास बसी मंगलबार धनकुटा आइपुग्ने यात्रीहरूले यात्राभर अरूले बनाएका पाटीपौवा वा चौतारा प्रयोग नगरी खुला आकाशमुनि नै बास बस्नुपर्ने मौलिक मान्यता छ ।

यात्राबाट फर्किएपछि बुधबार धनकुटा नगरपालिकास्थित २२ वटा मार्गा थान मन्दिरमा भेला भएर विधिपूर्वक पूजा गरिन्छ । त्यसपछि घरघरमा दुःखको कर्म फुकाउने र जेठो सन्तान जन्मिएको वा नयाँ घर बनाएको खुसीयालीमा आफन्त तथा छरछिमेकीलाई भोज खुवाउने चलन छ । पुजारी उमेश आठपहरियाका अनुसार करिब १५ दिनसम्म चल्ने यस उत्सवमा समुदायका हुम्बारक, छिर्लिङे र खावाडो गरी तीन पाछाका पुस्तागत डल्ले नाच तथा पैसाको माला दान गर्दै मारुनी नाच प्रदर्शन गरिन्छ ।

धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेका करिब ६ हजार आठपहरियाले वैशाखमा विशु, भदौमा न्वागी र कात्तिक वा मंसिरमा वडाङ्मेट गरी तीन प्रमुख चाड मनाउँछन् । यी पर्व मनाउन विश्वका जुनसुकै कुनामा पुगेका भए पनि मूल थलो धनकुटा नै फर्किनुपर्ने मान्यता छ । भाइटिकापछि साइत जुराएर माङ्ला उठाएपछि सुरु हुने वडाङ्मेटका अवसरमा धनकुटा नगरपालिकाले मंसिर ८ र ९ गते सार्वजनिक बिदा दिएको छ ।

सहिदभूमिमा ‘वाढाङ्मी’ (पापानी) सुरु हुँदै

यता, धनकुटाकै सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोबास गर्ने किराँत राई समुदायको मुख्य पर्व वाढाङ्मी (पापानी) पनि मंसिर ८ गते मंगलबारदेखि सुरु हुँदैछ । कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मंगलबार सहिदभूमि–३ स्थित साकेन्वा थानमा पूजा गरी पर्व थालिने स्थानीय नरेन्द्र कश्चित राईले बताए ।

नयाँ बाली भित्र्याएको खुसी साटासाट गर्दै कुलदेवता र इष्टदेवताको पूजाआराधना गरिने यो पर्व छ दिन छ रातसम्म चल्छ । पर्वको पहिलो दिन गाउँभरिका गढी घरका ढोलहरू मूल पुजारीको घरमा भेला गरी पूजा गरिन्छ भने दोस्रो दिन घरघरमा देवीदेवता भित्र्याई माङ्ला (जोखाना) हेर्ने चलन छ । यस अवधिमा एकअर्कासँग कुम जोडेर गोलो घेरामा तीन कदम अगाडि र पछाडि सार्दै ढोल र झ्याम्टाको तालमा सामूहिक नाचगान गरिन्छ ।

पर्वको अन्तिमतिर इष्टदेवता फुढाहाङ (बुढाहाङ)० को प्रतीक ङाङसुबाथिङको घर हुँदै पथ्थरे र मझियाको गढी घरमा पूजा गरी पर्व समापन गरिन्छ । पापानीका अवसरमा सहिदभूमि गाउँपालिकाले मंसिर १३ र १४ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.