खोटाङका कवि तथा गीतकार टीका चाम्लिङको निधन

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार १३:१९

विराटनगर । खोटाङका कवि तथा गीतकार टीका चाम्लिङको ५३ वर्षको उमेरमा निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला स्थायी ठेगाना भएका चाम्लिङको क्यान्सरका कारण शनिबार राति निधन भएको हो ।

२०८० सालदेखि क्यान्सरसँग लड्दै आएका चाम्लिङको काठमाडौंको बिएण्डबी अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्त सुरेश राईले बताए। एकपटक क्यान्सरलाई जितेका उनको पछि शरीरको अर्को भागमा पुनः क्यान्सर देखिएको थियो ।

संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली सभा गरेपछि उनको पार्थिव शरीर जन्मथलो लगेर अन्त्येष्टि गर्ने तयारी भइरहेको राईले जानकारी दिए ।

२०३० माघ ४ गते जन्मिएका चाम्लिङका दुई सयभन्दा बढी गीत रेकर्ड भएका छन् । लामो समयदेखि गीत, कविता र संस्कृतिका क्षेत्रमा सक्रिय उनका ‘जाउँ सँगी गाउँघरैमा’ र ‘आलु तामाले’ चर्चित गीत हुन् । उनका श्रीमती र एक छोरा छन् ।

चाम्लिङका ‘सधैँभरि’ (२०५८), ‘राखौँ सम्झना’ (२०५९), ‘सोमबारे हाटैमा’ (२०५९), ‘सपनाको रङ’ (२०६०), ‘समयको रङ’ (२०६४), ‘जूनको बस्ती’ (२०६८), ‘मुन्दुम र मालिङ्गो’ (२०७१) र ‘बागी कविता’ (२०८०) लगायत कृति प्रकाशित छन् ।

उनले २०६१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत–सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकारको पुरस्कार पाएका थिए । २०७५ सालमा रेडियो नेपालकै राष्ट्रव्यापी बालगीत–सङ्गीत सम्मेलनमा पनि उनी सर्वोत्कृष्ट गीतकार घोषित भएका थिए ।

त्यस्तै, २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको नेपाली प्रतिभा पुरस्कार, २०७२ सालमा खोटाङ सेवा समाज बेलायतको खोटाङ प्रतिभा पुरस्कार र २०७८ सालमा कोशी प्रदेश सरकारको प्रदेश भाषा, साहित्य, कला तथा संस्कृति सम्मानलगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट उनी सम्मानित भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.