
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेसँगै उनी सवार जहाज विश्वभरका उडानमध्ये सबैभन्दा बढी हेरिएको उडान बनेको छ ।
आइतबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिल्ली गएका प्रधानमन्त्री शाह सवार विमानलाई उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट राडार २४’ मा एकै समयमा २ हजार २१५ जनाले प्रत्यक्ष हेरिरहेका थिए ।
फ्लाइट राडार २४ का अनुसार नेपाल एयरलाइन्सको एयरबस ए–३२० विमान (उडान नम्बर आरए २१७) दिउँसो १ः४५ बजे उड्ने तालिका थियो । तर, निर्धारित समयभन्दा २३ मिनेट ढिलो गरी विमान दिउँसो २ः०८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।
भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे दिल्ली पुग्ने तालिका रहे पनि ट्र्याकिङ विवरणमा विमान ३ः२० बजे अवतरण गर्ने अनुमान देखाइएको थियो ।
फ्लाइट राडार २४ को नक्साअनुसार विमानले काठमाडौंबाट उडान भरेपछि कोटेश्वर, लगनखेल, जावलाखेल हुँदै भैँसेपाटी क्षेत्रको आकाशबाट दिल्लीको मार्ग समातेको थियो ।
उडानको सुरुवाती सात किलोमिटर दूरी पार गर्दा दिल्ली पुग्न अझै ८११ किलोमिटर बाँकी रहेको विवरणसमेत ट्र्याकिङ वेबसाइटमा देखिएको थियो । प्रधानमन्त्रीको भारत भ्रमणसँगै उनको उडानले अन्तर्राष्ट्रिय स्तरमै असाधारण दर्शक आकर्षित गरेको यस विवरणले देखाएको छ ।

























