
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । सडक सञ्जाल सहज हुनु र पूर्वाधार विकाससँगै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने चाररातेमा पछिल्लो समय दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक पुग्न थालेको फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राईले जानकारी दिए । उनका अनुसार चाररातेबाट हिमशृङ्खलाको दृश्यावलोकन, चौँरी तथा भेँडीगोठको अनुभव र उच्च पहाडी क्षेत्रको प्राकृतिक वातावरणमा रमाउन पाइन्छ ।
चाररातेबाट सूर्योदय र सूर्यास्त दुवैको दृश्य देख्न सकिने भएकाले पनि पर्यटक आकर्षित भइरहेको पर्यटन व्यवसायीसमेत रहेका राईले बताए । ‘पूर्वका धेरै ठाउँबाट सूर्योदय राम्रोसँग देख्न सकिन्छ’, उनले भने, ‘तर यहाँबाट सूर्योदयसँगै सूर्यास्त पनि स्पष्ट देख्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको हो ।’ उनका अनुसार नेपाल, भारतको सिक्किम र भुटानका हिमालको दृश्यावलोकनका लागि पनि चारराते उपयुक्त गन्तव्य हो ।
नयाँ वर्षका दिन आयोजना हुने चौँरी महोत्सव, यहाँ छायाङ्कन भएको ‘उनको स्वीटर’ चलचित्र तथा समाचार सामग्री र युट्युब, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा भएको प्रचारले पनि पर्यटक आकर्षित गरेको घरबास सञ्चालक डिल्लीहाङ केरुङले बताए। चाररातेमा रहेको नेपालको झण्डाको आकारको झण्डा पोखरी, जलजले पोखरी र भैँसे पोखरी पनि पर्यटकका आकर्षण बनेका छन् ।
समुद्र सतहबाट तीन हजार ५०० मिटर उचाइमा रहेको चारराते पुग्न पाँचथरको फिदिमबाट प्राङबुङ हुँदै जान सकिन्छ। इलामको सन्दकपुरबाट पनि यहाँ पुग्न सकिन्छ । यस वर्ष नेपालतर्फबाट पर्यटकको सङ्ख्या बढेपछि स्थानीयवासी पर्यटन गतिविधि विस्तार हुने र आर्थिक गतिविधि चलायमान बन्ने आशामा उत्साहित छन् ।
घरबास सञ्चालक केरुङका अनुसार चाररातेबाट कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल स्पष्ट देखिन्छन् । ‘ती दृश्य मोबाइल र क्यामेरामा नजिकैजस्तो गरी खिच्न सकिने हुँदा धेरै पर्यटक आकर्षित भइरहेका छन् । यस पटक बडादसैँ र तिहारको बिदा लामो भएकाले पनि फुर्सदको समयमा धेरै पर्यटक यहाँ पुगेका हुन्’, उनले भने ।
सडक पूर्वाधार सहज हुँदै गएपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनबाटै चारराते पुग्न सकिने भएको छ । घरबास सञ्चालक केरुङका अनुसार कात्तिक र मङ्सिर यस क्षेत्र भ्रमणका लागि उपयुक्त समय हुन् ।
भारतका विभिन्न क्षेत्रबाट समेत नेपालको बाटो हुँदै पर्यटक आउन थालेपछि पर्यटनमा आधारित अर्थतन्त्र विस्तार र स्वरोजगारका अवसर सिर्जना हुने आशा स्थानीयमा पलाएको छ । ‘अहिले भारतको बाटो हुँदै धेरै पर्यटक आइरहेका छन् । तीमध्ये आधालाई मात्रै नेपालतर्फबाट ल्याउन सकियो भने जिल्ला सदरमुकामसहितका बजारमा पनि पर्यटनमा आधारित अर्थतन्त्र फस्टाउन सक्छ’, पर्यटन व्यवसायी राईले भने। त्यसका लागि थप पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको भनाइ छ ।
पर्यटकको सङ्ख्या बढेसँगै व्यवस्थापनमा भने चुनौती थपिएको छ । सीमित घरबास र गोठबासमा पर्यटक राख्नुपर्ने, खानेपानी र विद्युत् नियमित नहुने तथा वर्षा हुनासाथ सडक जोखिमपूर्ण बन्ने समस्या रहेको घरबास सञ्चालक केरुङले बताए ।
‘अहिले आएका पर्यटकलाई राम्रो सुविधा दिन नसक्दा गलत सन्देश जाने जोखिम पनि उत्तिकै छ’, संस्थाका अध्यक्ष राईले भने, ‘यस क्षेत्रमा दीर्घकालीन रूपमा कसरी पर्यटक भित्र्याउने, स्वरोजगारका अवसर सिर्जना गर्ने र पर्यटन प्रवर्द्धनका योजना बनाउने भन्ने हाम्रो चिन्ता हो ।’ सवारीसाधनको चाप बढ्नुका साथै फोहरमैला व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको उनले बताए ।
हालै यस क्षेत्रमा ‘कलेजी उनको स्वीटर–२’ नामको नयाँ चलचित्रको छायाङ्कन भएको थियो । छायाङ्कनका लागि विपीन कार्की, मिरुना मगरलगायत कलाकार पुगेपछि पर्यटकको आकर्षण थप बढेको स्थानीयको भनाइ छ । चाररातेका फराकिला पाटन र त्यहाँ फुलेका बुकीलगायत फूलले पनि पर्यटकलाई लोभ्याउने गरेका छन् ।

























