हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदनबाट आवाज उठाउन खुश्बु ओलीको आग्रह

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार १७:०९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छन् ।

नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले हिन्दू राष्ट्र स्थापनाको अभियानमा राजनीतिक दल र धार्मिक गुरुहरू एकजुट हुनुपर्ने धारणा राखिन् ।

उनले मठमन्दिरमा पुग्ने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दू राष्ट्र स्थापनाबारे प्रश्न गर्न धार्मिक गुरुहरूलाई आग्रह गरिन् । मन्दिरमा आउने नेताहरूलाई स्वागत र सम्मान गर्नुका साथै ‘हाम्रो हिन्दू राष्ट्र खोइ ?’ भनेर जवाफ माग्नुपर्ने उनको भनाइ थियो ।

सांसद ओलीले हिन्दू तथा सनातन धर्मावलम्बीका मुद्दामा पर्याप्त आवाज उठ्न नसक्दा समुदायको विश्वास कमजोर हुँदै गएको पनि बताइन् । छठ पर्वका क्रममा घाट भत्काइएको घटनाको उदाहरण दिँदै उनले यस्ता विषयमा राजनीतिक नेतृत्व, धार्मिक अगुवा र नागरिक समाजले प्रश्न उठाउनुपर्ने बताइन् ।

उनले गौहत्या, गौतस्करी तथा हिन्दू समुदायमाथि हुने हिंसाका घटनाविरुद्ध सडकमा उत्रिएर विरोध र खबरदारी गर्नुपर्नेमा जोड दिइन् । धार्मिक संगठनले हिन्दू समुदायको संरक्षणका लागि व्यवहारमै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

ओलीले हिन्दू राष्ट्र स्थापनाको विषयलाई राप्रपाले संसद्भित्र निरन्तर उठाउने प्रतिबद्धता व्यक्त गर्दै संसद्बाहिरबाट अभियानलाई साथ दिन धार्मिक गुरु तथा सनातन धर्मावलम्बीहरूलाई अपिल गरिन् ।

उनका अनुसार हिन्दू राष्ट्र स्थापनाको उद्देश्य पूरा गर्न संसद्भित्र राजनीतिक आवाज र संसद्बाहिर जनस्तरको दबाब दुवै आवश्यक छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.