
इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा तीर्थालु भक्तजनको चहलपहल बढेको छ । देवीको दर्शन गर्न र भाकल बुझाउन आउने भक्तजनको सङ्ख्या बढेको धामका पुजारी सन्तोष बस्नेतले जानकारी दिए ।
कात्तिक पूर्णिमाको अवसरमा मंगलबारदेखि सुरु हुने परम्परागत गजुरमुखी धार्मिक मेलालाई लक्षित गरी भक्तजनको घुइँचो बढेको हो । धार्मिक मेलासँगै देवीको दर्शनसमेत गर्न पाइने भएकाले अहिले धाम आउनेको संख्या उल्लेख्य बढेको बस्नेतले बताए ।
उनका अनुसार पछिल्लो दुई महिनायता नेपालको पूर्वी क्षेत्र तथा भारतका सिक्किम, दार्जिलिङ, मिरिक, खर्साङ, आसाम र कालेङबुङलगायत ठाउँबाट दैनिक सयौँ भक्तजन गजुरमुखी धाम पुग्ने गरेका छन् । पछिल्लो साता दैनिक पाँच सयको हाराहारीमा भक्तजन आउने गरेको उनले बताए । विशेषगरी शनिबार र मंगललबार भक्तजनको संख्या बढी हुने गरेको छ ।
गजुरमुखी धाममा दर्शन तथा भाकल गरे मनाृकामना पूरा हुने धार्मिक विश्वास छ । यहाँ भाकल गरे बोल्न नसक्नेहरूको बोली आउने र सन्तान नभएकाहरूले सन्तान प्राप्त गर्ने जनविश्वाससमेत छ । सामान्यतया असोजदेखि जेठसम्म धाममा भक्तजनको बढी घुइँचो लाग्ने गर्दछ ।
कात्तिक पूर्णिमाको अवसरमा परम्परागत रूपमा लाग्दै आएको गजुरमुखी धार्मिक मेलाको तयारी पनि तीव्र पारिएको छ । मेला व्यवस्थापनका लागि माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयको रोहबरमा स्थानीय गजुरमुखी धाम पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेन्द्र नेम्वाङको अध्यक्षतामा १३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको वडा सदस्य ठाकुर श्रेष्ठले जानकारी दिए ।
सयौँ वर्षदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको श्रेष्ठले बताए । उनका अनुसार मेलामा गजुरमुखी देवीको दर्शन तथा पूजाआराधना, स्थानीय जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।
खेलकुद प्रतियोगिताअन्तर्गत गजुरमुखी गोल्डकप फुटबल प्रतियोगिता मंसिर ३ गतेदेखि नै सुरु भइसकेको छ । प्रतियोगिता सञ्चालनका लागि माङसेबुङ गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको मेला मूल व्यवस्थापन समिति अध्यक्ष नेम्वाङले जानकारी दिए ।
मेलामा सुरक्षा, प्रचारप्रसार, रात्रिकालीन दर्शन, आवास र भोजनलगायत व्यवस्था मिलाइँदैछ । धाम आसपास पाल टाँगेर दर्जनौँ अस्थायी टहरा निर्माण गरी होटल व्यवसाय सञ्चालन गर्ने तयारी गरिएको नेम्वाङले बताए। तीर्थालुलाई सहज रूपमा दर्शन गर्न र आवतजावत गर्न आवश्यक प्रबन्ध मिलाउने काम भइरहेको उनले जानकारी दिए ।
गजुरमुखी धाम इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा पर्छ। इलामको नेपालटार–मङ्गलबारे–धुसेनी सडक हुँदै मंगलबारेसम्म ३० किलोमिटर पक्की सडक र त्यसपछि कच्ची सडकमार्फत धाम पुग्न सकिन्छ ।
झापाको दमकबाट दमक–चिसापानी सडक हुँदै माङसेबुङको चतुरेसम्म २९ किलोमिटर कच्ची र त्यसपछि १४ किलोमिटर कालोपत्रे सडकबाट पनि गजुरमुखी पुग्न सकिन्छ । त्यस्तै, पाँचथरको राँकेबाट राँके–गैँडे सडक तथा रविबाट हुलाक–नाङरुङ–गजुरमुखी दोभान कच्ची सडक हुँदै धाम पुग्न सकिन्छ ।

























