
झापा । रश्मिकुमारी घिसिङको सनसनीपूर्ण दोहोरो ह्याट्रिकसँगै एपीएफ फुटबल क्लबले झापाको दुधेमा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपमा फराकिलो जित निकालेको छ। विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
एपीएफको जितमा रश्मिकुमारी घिसिङ एक्लैले ६ गोल गरिन् भने अनिता केसीले एक गोल थपिन्। खेलको २६ औँ मिनेटमा रेनुका नगरकोटीको प्रहारलाई रिबाउन्ड गर्दै रश्मिले गोलको खाता खोलेकी थिइन्। त्यसको चार मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गरिन् ।
पहिलो हाफको अन्तिम अर्थात् ४५ औँ मिनेटमा मैदानको मध्यभागबाट बल अघि बढाउँदै गोल गरेपछि रश्मिले ह्याट्रिक पूरा गरिन् । दोस्रो हाफमा पनि उनको गोल वर्षा रोकिएन । ५२औँ मिनेटमा भुटानकी पुनम चेम्जोङले डिबक्सभित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रश्मिले चौथो गोल गरिन् ।
५५ औँ मिनेटमा कुसुम खतिवडाको क्रसमा हेडमार्फत गोल गरेकी रश्मिले ५९ औँ मिनेटमा कुसुमसँगको तालमेलमा व्यक्तिगत छैटौँ गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरिन् । ६२ औँ मिनेटमा रश्मिकै पासमा अनिता केसीले गोल थपेपछि एपीएफले ७–० को फराकिलो जित सुनिश्चित गर्यो ।
खेलभरि एपीएफले विपक्षी टोलीमाथि दबाब कायम राख्यो । भुटानको थिम्पु राभेनले भने गोल गर्ने अवसर सिर्जना गर्न सकेन। हालै धरानमा सम्पन्न धरान महिला गोल्डकपको उपाधि जितेको एपीएफले झापामा पनि उपाधिको बलियो दाबेदारी प्रस्तुत गरेको छ। गत संस्करणको उपविजेता एपीएफले अब सेमिफाइनलमा झापा–११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
खेलकी उत्कृष्ट खेलाडी एपीएफकी रश्मिकुमारी घिसिङ घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वार्टरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

























