
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै देशका प्रधानमन्त्रीले उक्त परियोजनाको शिलान्यास गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन र भण्डारण केन्द्रको शिलान्यासले दुई देशबीचको आपूर्ति साझेदारी थप सुदृढ बनाउने बताए ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले यस परियोजनाले नेपालको पूर्वी क्षेत्रमा पेट्रोलियम पदार्थको आयात सहज बनाउने बताए । अहिले पूर्वी नेपालमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थ ढुवानी भइरहेको उल्लेख गर्दै उनले परियोजना सम्पन्न भएपछि पाइप लाइनबाटै इन्धन ल्याउन सकिने जानकारी दिए ।
परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापासम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गर्ने योजना छ । भारत सरकारले पाइपलाइन र भण्डारण केन्द्र दुवै अनुदानमा निर्माण गरिदिन लागेको साहले बताए ।
उनका अनुसार अहिले झापामा पेट्रोलियम भण्डारण केन्द्रको टर्मिनल शिलान्यास गरिएको हो । पाइपलाइन निर्माणका लागि आवश्यक साइट क्लियरेन्सलगायतका काम पनि भइरहेको छ ।
पेट्रोलियम भण्डारण केन्द्र निर्माणमा करिब ६ अर्ब रुपैयाँ र पाइपलाइन निर्माणमा करिब पाँच अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । झापामा निर्माणाधीन भण्डारण गृहको कुल क्षमता १८ हजार ९०० किलो लिटर हुनेछ । त्यहाँ डिजेल, पेट्रोल र मट्टितेल भण्डारण गर्न सकिनेछ ।
दुवै देशका प्रधानमन्त्रीले सोमबार नै मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको दोस्रो चरणको परियोजना पनि उद्घाटन गरेका छन् ।

























