सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार १३:३८

हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको सहिद स्मारक पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। गत कात्तिक महिनामा मात्रै ३६ हजार ७४० जनाले स्मारकको भ्रमण गरेका छन्। पर्यटकको उल्लेख्य आगमनसँगै स्मारकले एक महिनाको अवधिमा २२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।

स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीका अनुसार कात्तिक महिनामा विभिन्न क्षेत्रबाट आएका पर्यटकले स्मारकको अवलोकन गरेका हुन्। उक्त अवधिमा प्रवेश शुल्क, वनभोज तथा चलचित्र छायांकनलगायतका शीर्षकबाट कुल २२ लाख २९ हजार ६५० रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए।

स्मारकबाट प्राप्त आम्दानी कर्मचारी व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण तथा संरक्षणलगायतका काममा खर्च हुँदै आएको छ। पर्यटकको सहजताका लागि स्मारक परिसरमा विभिन्न सुविधा उपलब्ध गराइएको छ।

हिउँदको मौसम सुरु भएसँगै सहिद स्मारकमा वनभोजका लागि आउने समूहको चहलपहलसमेत बढ्न थालेको छ। वनभोजमा आउने आगन्तुकलाई लक्षित गरी यहाँ नौवटा व्यवस्थित सेड र खुला स्थानको व्यवस्था गरिएको छ। यसले परिवार, साथीभाइ तथा विभिन्न संस्थाका समूहलाई वनभोजका लागि आकर्षित गर्दै आएको छ।

ऐतिहासिक महत्त्व बोकेको सहिद स्मारकको मुख्य आकर्षण एउटै ढुंगामा कुदिएका सहिदका आकृति हुन्। उक्त शिलामा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेटिएको छ। साथै, ज्ञात तथा अज्ञात सहिदको प्रतिनिधित्व गर्ने महिला र पुरुषका अमूर्त आकृतिसमेत निर्माण गरिएको छ।

स्मारक परिसरमा इतिहास र प्रकृतिसँगै मनोरञ्जनका विविध संरचना पनि रहेका छन्। मनमोहन वाटिका, जातीय सङ्ग्रहालय, मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रिन हाउस तथा फोहोरासहितको पार्कले पर्यटकलाई थप आकर्षित गरिरहेका छन्।

ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको यस स्थलमा वर्षभरि नै आगन्तुकको आवागमन सहज बनाउन स्मारक खुला राख्ने व्यवस्था गरिएको लेखा अधिकृत बिडारीले बताए।

विभिन्न ऐतिहासिक स्मृतिलाई संरक्षण गर्दै मनोरञ्जन र घुमफिरको अवसरसमेत प्रदान गर्दै आएको सहिद स्मारक हेटौंडाको प्रमुख पर्यटकीय पहिचानका रूपमा स्थापित हुँदै गएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.