
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबरा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त सहयोग घोषणा गरेका हुन् ।
घोषित रकममध्ये कति सहुलियतपूर्ण ऋण र कति अनुदानका रूपमा उपलब्ध गराइने भन्ने खुलाइएको छैन ।
नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो । त्यसमध्ये १ खर्ब भारु सहुलियतपूर्ण ऋण र १ खर्ब अनुदानका रूपमा उपलब्ध गराउन अनुरोध गरिएको थियो । भारतले नेपालले माग गरेअनुसार नै सहयोग घोषणा गरेको बताइएको छ ।
नेपालले प्रस्ताव गरेको १ खर्ब अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि थप ५० अर्ब भारु सहयोग मागिएको थियो। तर, कुन परियोजनामा कति रकम उपलब्ध गराइने भन्ने मोदीले खुलाएका छैनन् ।
भारतले यसअघि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । नेपालले दुई वर्षअघि, २०८१ सालमा ९० करोड अमेरिकी डलर बराबरको लाइन अफ क्रेडिट रद्द गरेको थियो ।
यसअघि सन् २०१४ मा नेपाल भ्रमणका क्रममा तत्कालीन भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई १ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए । सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि उक्त सहयोगलाई भूकम्पपछिको पुनर्निर्माणका लागि उपयोग गर्ने गरी रूपान्तरण गरिएको थियो ।



















